कपिलवस्तु, ५ असार
कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा जिल्लामै पहिलो पटक अत्याधुनिक ल्याप्रोस्कोपिक मेसिन भित्रिएको छ। सहकारी मोडलमा सञ्चालित युनाईटेड अस्पतालले उक्त प्रविधि सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिकले अब आधुनिक, सुरक्षित र न्यून चिरफारयुक्त शल्यचिकित्सा सेवा आफ्नै जिल्लामा प्राप्त गर्न सक्ने भएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समिर खाँनका अनुसार ल्याप्रोस्कोपिक प्रविधिको प्रयोगबाट पित्तथैली, एपेन्डिक्स, हर्निया, स्त्रीरोगसम्बन्धी समस्या लगायतका विभिन्न शल्यक्रियाहरू सानो प्वालमार्फत गर्न सकिन्छ। यस प्रविधिमा क्यामेरा र विशेष उपकरणको सहायताले शल्यक्रिया गरिने भएकाले बिरामीको शरीरमा ठूलो घाउ नबस्ने, पीडा कम हुने तथा छिटो स्वास्थ्य लाभ प्राप्त हुने विशेषता रहेको स्पष्ट पार्नु भयो ।
विश्वभर आधुनिक शल्यचिकित्साको प्रभावकारी विकल्पका रूपमा स्थापित ल्याप्रोस्कोपिक सेवा कपिलवस्तुमा सुरु हुनु एउटा प्रविधि भित्रिनु मात्र नभई स्थानीय स्वास्थ्य सेवाको गुणस्तर उकास्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसअघि यस्ता सेवा लिन बिरामीहरू काठमाडौं, चितवन, भैरहवा लगायतका ठूला शहर धाउन बाध्य थिए। जसका कारण समय, खर्च र मानसिक तनाव समेत बढ्ने गरेको थियो। अब भने सो समस्या धेरै हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।


अस्पतालका निर्देशक सुन्दर आचार्यले आधुनिक स्वास्थ्य सेवाप्रति संस्थाको प्रतिबद्धता अनुसार अत्याधुनिक उपकरण भित्राइएको बताउँदै आगामी दिनमा थप प्रविधिमैत्री सेवा विस्तार गरिने जानकारी दिनुभयो। उहाँका अनुसार कपिलवस्तुसँगै अर्घाखाँची, रुपन्देही, दाङ, प्युठान तथा भारतीय सीमावर्ती क्षेत्रका नागरिकले समेत अस्पतालको सेवा लिइरहेका छन्।

वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. सन्तोष पौडेलका अनुसार यस प्रविधिबाट रक्तस्राव कम हुने, संक्रमणको जोखिम न्यून हुने, अस्पताल बसाइ छोटो हुने तथा बिरामी छिट्टै सामान्य जीवनमा फर्किन सक्ने फाइदा प्राप्त हुन्छ। सानो घाउबाट शल्यक्रिया गरिने भएकाले घाउ पाक्ने र जटिलता बढ्ने सम्भावना पनि कम रहने उहाँको भनाइ छ।
विशेषतः सहकारी क्षेत्रको लगानी र व्यवस्थापनमा सञ्चालित अस्पतालले यस्तो अत्याधुनिक सेवा सुरु गर्नु सामाजिक उत्तरदायित्व र जनस्वास्थ्यप्रतिको प्रतिबद्धताको उदाहरण बनेको छ। यसले ग्रामीण तथा सीमावर्ती क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै जिल्लालाई आधुनिक स्वास्थ्य सेवाको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
स्थानीय स्तरमै अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने युनाईटेड अस्पतालको यो पहलले “गुणस्तरीय उपचारका लागि शहर नै पुग्नुपर्छ” भन्ने पुरानो सोचलाई परिवर्तन गर्दै स्वास्थ्य सेवामा आत्मनिर्भर कपिलवस्तु निर्माणको आधार तयार गरेको छ।









प्रतिक्रिया