ब्रेकिंग न्युज

स्थानीय मिडिया संरक्षणमा स्थानिय तह अग्रसर बन्दै

लोकतन्त्रको चौथो अंग जोगाउन स्थानीय सरकारको के हुन्छ भूमिका ?



प्रेसपाटी डेक्स

कपिलवस्तु, बाणगंगा ८ असार

स्थानीय सरकार सडक, भवन र भौतिक पूर्वाधार निर्माण गर्ने निकाय मात्र होइन, लोकतान्त्रिक शासन प्रणालीलाई जीवन्त बनाउने आधारस्तम्भ पनि हो। लोकतन्त्रको सफल कार्यान्वयनका लागि नागरिक, जनप्रतिनिधि र सञ्चार माध्यमबीचको सशक्त सम्बन्ध आवश्यक हुन्छ। यही सन्दर्भमा कपिलवस्तुका अधिकाशं स्थानिय तह सञ्चारमैत्री स्थानीय सरकारका रूपमा थप उदाहरणीय बन्ने नीतिगित आधार देखिएको छ।
आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा कपिलवस्तुका अधिकांश पालिका सुशासन, पारदर्शिता, सूचना प्रविधि, नागरिक गुनासो व्यवस्थापन, सार्वजनिक उत्तरदायित्व तथा सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखिएको छ। यी सबै विषयको सफल कार्यान्वयनका लागि स्वतन्त्र, जिम्मेवार र सशक्त सञ्चार माध्यम अपरिहार्य हुन्छन्।


पालिकाहरुले नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयन, अनलाइन सेवा प्रणाली, गुनासो व्यवस्थापन प्रणाली, सार्वजनिक खरिदको पारदर्शिता, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा जनप्रतिनिधि र कर्मचारीको जवाफदेहितालाई प्राथमिकता दिएको छ। यी नीतिहरूलाई जनस्तरसम्म पु¥याउने, कार्यान्वयनको निगरानी गर्ने तथा नागरिकलाई सुसूचित बनाउने मुख्य माध्यम सञ्चार क्षेत्र नै भएकोले संचार क्षेत्रको संरक्षण, प्रवर्धनमा स्थानिय तहको भूमिका महत्वपूर्ण रहने बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको भनाइ रहेको छ ।
सञ्चार क्षेत्र संकटमा, स्थानीय सरकारको साथ आवश्यक
हाल नेपालभर सञ्चार उद्योग गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। विज्ञापन बजार खुम्चिँदै गएको, मुद्रण लागत बढेको, डिजिटल माध्यमको तीव्र विस्तार तथा निजी लगानीमा सञ्चालित स्थानीय सञ्चार संस्थाहरू आर्थिक दबाबमा परेको अवस्था छ। यस्तो अवस्थामा स्थानीय सञ्चार माध्यमलाई संरक्षण र प्रवद्र्धन गर्नु लोकतन्त्र र सुशासनको संरक्षण गर्नु सरह हो।
विशेष गरी कपिलवस्तु जिल्लामा दैनिक पत्रिकाको संख्या अत्यन्त न्यून रहेको अवस्थामा जिल्लाको एकमात्र राष्ट्रिय दैनिक पत्रिकाले निरन्तर जनसरोकारका विषय उठाउँदै आएको छ। यस्ता छापा सञ्चार माध्यमहरूको अस्तित्व जोगिनु भनेको स्थानीय आवाज, स्थानीय पहिचान र स्थानीय लोकतन्त्रको संरक्षण हुनु हो।
स्थानीय तहले आफ्नो बजेट, सूचना प्रवाह प्रणाली, सार्वजनिक सूचना प्रकाशन, जनचेतनामूलक कार्यक्रम तथा विकास गतिविधिको प्रचार–प्रसारमा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिएमा सञ्चार संस्थाहरू आर्थिक रूपमा समेत सबल बन्न सक्छन्। यसले स्थानीय सरकार र नागरिकबीचको दूरी पनि घटाउँने बताउनु हुन्छ पत्रकार महासंघ कपिलवस्तुका शाखा अध्यक्ष डिलाराम भुसाल ।
सुशासनको साझेदार हो सञ्चार माध्यम
सञ्चार क्षेत्र सरकारको प्रतिपक्ष होइन, विकास र सुशासनको साझेदार हो। सञ्चार माध्यमले स्थानीय सरकारका सकारात्मक कार्यहरू नागरिकसम्म पु¥याउने मात्र होइन, कमजोरी र चुनौतीलाई पनि रचनात्मक रूपमा उजागर गर्छ। यसले जनप्रतिनिधि र कर्मचारीलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बन्न प्रेरित गर्छ।
बाणगंगा, बुद्धभूमि, शिवराज, कपिलवस्तु, विजयनगर, शुद्धोधन लगायतका जिल्लाका पालिकाहरुले आफ्नो नीति तथा कार्यक्रममा पारदर्शी सार्वजनिक खरिद, वित्तीय अनुशासन, अनलाइन प्रशासन, सार्वजनिक गुनासो व्यवस्थापन तथा सूचना प्रविधिमैत्री शासन प्रणालीलाई प्राथमिकता दिएको छ। यस्ता कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा सञ्चार माध्यमको निरन्तर सहकार्य आवश्यक रहने पत्रकार महासंघका पूर्व लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी ।
विश्वका विकसित लोकतान्त्रिक मुलुकहरूमा सञ्चार क्षेत्रलाई लोकतन्त्रको चौथो अंगका रूपमा सम्मान गरिन्छ। नागरिकलाई सुसूचित गर्ने, जनमत निर्माण गर्ने, सार्वजनिक निकायलाई उत्तरदायी बनाउने तथा विकास प्रक्रियामा जनसहभागिता बढाउने काम सञ्चार माध्यमले गर्दै आएको बताउनुहुन्छ नागरिक अगुवा पोमनारायण पौडेल ।
कपिलस्तुका स्थानिय तह नेपालकै नमुना बन्न सक्ने आधार
विगतदेखि नै कपिलवस्तु जिल्लामा रहेका बाणगंगा नगरपालिका, बुद्धभूमि, शिवराज, विजयनगर लगायतका पालिकाहरु सञ्चारमैत्री स्थानीय तहका रूपमा परिचित रहँदै आएका छन। विभिन्न सूचना, कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयमा स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्दै आएको इतिहासले पनि यो पुष्टि गर्छ।
आर्थिक वर्ष २०८३÷०८४ मा सञ्चार क्षेत्रको वर्तमान संकटलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै स्थानीय सञ्चार माध्यमको संरक्षण, प्रवद्र्धन र संस्थागत विकासका लागि पर्याप्त बजेट तथा कार्यक्रम ल्याउन सके कपिलवस्तु जिल्लाका यी स्थानिय तहहरु नेपालकै नमुना सञ्चारमैत्री स्थानीय सरकारका रूपमा स्थापित हुन सक्ने देखिन्छ।
विशेष गरी छापा तथा विधुतिय सञ्चार माध्यमको संरक्षण, स्थानीय पत्रकारहरूको क्षमता विकास, सूचना पहुँच अभिवृद्धि, डिजिटल रूपान्तरणमा सहयोग तथा स्थानीय मिडियामार्फत जनचेतना कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गर्न सके यसको सकारात्मक प्रभाव दूरगामी हुनेछ।
सुशासन, पारदर्शिता र लोकतन्त्रलाई बलियो बनाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य छ। स्थानीय सञ्चार माध्यम बलियो भए नागरिक सचेत हुन्छन्, जनप्रतिनिधि जिम्मेवार बन्छन् र विकास प्रक्रिया थप पारदर्शी तथा सहभागितामूलक बन्न् विश्वास ब्यक्त गर्नु हुन्छ सामाजिक अगुवा गुणानिधी भुसाल ।
त्यसैले स्थानीय मिडियाको संरक्षण र प्रवद्र्धन खर्च होइन, लोकतन्त्र र सुशासनमा गरिएको दीर्घकालीन लगानी हो। कपिलवस्तु जिल्लाका स्थानिय तहहरुले आगामी बजेट तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सञ्चारमैत्री शासनको उदाहरण प्रस्तुत गर्ने विश्वास सञ्चारकर्मी तथा आम नागरिकले गरेका छन्। यदि यो विश्वास व्यवहारमा रूपान्तरण हुदा स्थानिय तहमा विकास संगै सञ्चार क्षेत्रको प्रवद्र्धन र लोकतान्त्रिक अभ्यासमा समेत नेपालकै अग्रणी स्थानीय सरकार बन्नेछन् ।

प्रकाशित : ८ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६