ब्रेकिंग न्युज

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार



काठमाडौँ, ८ असार

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी विषयमा सरोकार भएका निकायमा प्रतिनिधिसँग छलफल गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनका लागि चितवन पुग्नुभएकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत जानकारी लिनुभएको हो । भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदम दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको स्थलगत अवलोकन गर्नुभयो । सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ । देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघे इन्क्लोजर (चिडियाखाना, आरक्ष वा कुनै निश्चित क्षेत्रमा जनावरलाई सुरक्षित राख्न वा सर्वसाधारणबाट अलग गर्न बनाइएको घेरा, खोर वा पर्खाल) मा राखिएका छ । तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको हो । मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्यापर्यटनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसका लागि आवश्यक योजनाबारे निकुञ्ज प्रशासनसँग छलफलसमेत गर्नुभएको हो । यसैगरी मन्त्री चौधरीले चितवनको खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका समस्या र आवश्यकताका बारेमा जानकारी पनि लिनुभएको छ । स्थापनाको ३३ वर्षमा ६८ वटा हात्तीका छावा जन्माएर संरक्षणमा योगदान पुर्‍याएको प्रजनन केन्द्रका बारेमा उठेका प्रश्नलाई पनि उहाँले सम्बोधन गर्ने प्रयास गर्नुभयो । उहाँले केन्द्रमा माउ तथा छावाको स्वास्थ्य, आहारा व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे निकुञ्जका अधिकारीसँग छलफल गर्नुभएको थियो । चितवनको राष्ट्रिय निकुञ्जको कार्यालय भ्रमण गर्दै मन्त्री चौधरीले घडियाल प्रजनन केन्द्र पनि भ्रमण गर्नुभएको थियो । उहाँले घडियाल गोहीको संरक्षण र सङ्ख्या वृद्धिका लागि सञ्चालित कार्यक्रमले नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा जोड दिनुभयो । सोहीअवसरमा चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन (रत्नगर क्षेत्र)मा कृष्णसार स्थानान्तरणका लागि भइरहेको अन्तिम तयारीको मन्त्रालयको टोलीले निरीक्षण गरेको थियो । पर्यापर्यटन एवं संरक्षणको उद्देश्यका कृष्णसार ल्याउने मन्त्रालयको तयारी छ । मन्त्री चौधरीले कृष्णसारको सुरक्षित बासस्थान सुनिश्चित गर्न निर्देशन दिनुभएको थियो । टिकौलीमा रहेको सशस्त्र वन रक्षक तालिम केन्द्रको निरीक्षण गरी वन रक्षकहरूको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार र वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिमको आधुनिकिकरण हुनुपर्नेमा जोड दिनुभयो । अनुसन्धान र प्रविधिको पाटोलाई नियाल्दै मन्त्री चौधरीले चितवनमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अत्याधुनिक वन्यजन्तु जेनोमिक ल्याबको भ्रमण गर्नुभयो । वन्यजन्तुको अनुवांशिक अध्ययन र वैज्ञानिक अनुसन्धानका गतिविधिबारे जानकारी लिँदै उहाँले तथ्यमा आधारित संरक्षण नीति निर्माण गर्न यो प्रयोगशाला महत्त्वपूर्ण रहेको बताउनुभयो । भ्रमणको क्रममा चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन, डिभिजन वन कार्यालय चितवनका प्रमुख तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवलगायतका उच्च अधिकारी हुनुहुन्थ्यो । मन्त्री चौधरीले संरक्षणका विविध आयाम र नीतिगत सुधारका विषयमा निर्देशन दिँदै समुदायमा आधरित कार्यक्रममा जोड दिनुभयो । स्थानीयसँगको अन्तरक्रियामा मन्त्री चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी सहअस्तित्व कायम गर्न सरकारले राहत, उद्धार र दीर्घकालीन पूर्वाधारका काम प्राथमिकताका साथ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : ८ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६