कपिलवस्तु, ९ असार
शुद्धोधन गाउँपालिका, लवनीले सार्वजनिक गरेको वित्तीय तथा विषयगत प्रगति विवरणले गाउँपालिकाको विकास बजेट कार्यान्वयन सन्तोषजनक रहेको देखाएको छ। उपलब्ध तथ्यांकअनुसार गाउँपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत र राजस्व मार्फत प्राप्त बजेटको ठूलो हिस्सा विकास तथा सेवा प्रवाहका क्षेत्रमा खर्च गर्दै करिब ८० प्रतिशत हाराहारीको वित्तीय प्रगति हासिल गरेको छ।
गाउँपालिकाको आम्दानी संरचनामा संघीय सरकारबाट प्राप्त अनुदान मुख्य आधारका रूपमा रहेको देखिन्छ। संघीय अनुदानसँगै प्रदेश सरकारबाट प्राप्त रकम र आन्तरिक स्रोतबाट संकलित आयले स्थानीय विकास कार्यक्रम सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याएको छ। अन्य निकायबाट भने समीक्षा अवधिमा कुनै उल्लेख्य अनुदान प्राप्त नभएको तथ्यांकले देखाउँछ।


गाउँपालिका अध्यक्ष कमलेश सरण चौधरी
वित्तीय प्रगतिलाई हेर्दा गाउँपालिकाले प्राप्त कुल बजेटको अधिकांश हिस्सा खर्च गर्न सफल भएको छ। स्थानीय तहमा विकास निर्माणका काम, सामाजिक सेवा तथा आधारभूत सुविधाका कार्यक्रम सञ्चालनका कारण खर्च प्रगति उच्च रहेको देखिन्छ। यसले योजना कार्यान्वयन क्षमता तथा बजेट परिचालन दक्षता सुदृढ हुँदै गएको पुष्टी गर्दछ।
विषयगत क्षेत्रअनुसारको बजेट विश्लेषण गर्दा शिक्षा क्षेत्रले सबैभन्दा ठूलो प्राथमिकता प्राप्त गरेको देखिन्छ। विद्यालय पूर्वाधार सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण र विद्यार्थी केन्द्रित कार्यक्रमहरू सञ्चालनका लागि उल्लेख्य बजेट विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा करिब ८९ प्रतिशत खर्च प्रगति हासिल हुनु स्थानीय सरकारको मानव पूँजी विकासप्रतिको प्रतिबद्धताको प्रमाण मानिएको छ।
त्यसैगरी भौतिक पूर्वाधार क्षेत्र दोस्रो ठूलो प्राथमिकतामा परेको छ। सडक, भवन, खानेपानी, सिंचाइ तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणका कार्यक्रममार्फत गाउँपालिकाले विकासको आधार विस्तार गर्ने प्रयास गरेको छ। पूर्वाधार क्षेत्रमा पनि करिब ७० प्रतिशतभन्दा बढी बजेट खर्च भएको देखिन्छ, जसले विकास निर्माणका कामहरू निरन्तर अघि बढिरहेको संकेत गर्दछ।
कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ। कृषकको उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधि विस्तार तथा आयआर्जन अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिए पनि खर्च प्रतिशत अन्य क्षेत्रको तुलनामा केही कम देखिएको छ। यसले कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा थप ध्यान दिनुपर्ने आवश्यकता आफुहरुले महशुस गरेको गाउँ पालिका अध्यक्ष कमलेश सरण चौधरीको भनाई रहेको छ ।
स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले आधारभूत स्वास्थ्य सेवा विस्तार, औषधि व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम र स्वास्थ्य संस्थाको सुदृढीकरणमा सहयोग पुगेको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक लक्षित कार्यक्रमहरूमा पनि उल्लेख्य बजेट खर्च भएको देखिन्छ, जसले समावेशी विकासप्रतिको गाउँपालिकाको प्रतिबद्धता झल्काउँछ।
समग्रमा शुद्धोधन गाउँपालिकाको गत आर्थिक वर्षको वित्तीय तथा विषयगत प्रगतिले शिक्षा, पूर्वाधार, स्वास्थ्य र सामाजिक समावेशीकरणलाई केन्द्रमा राखेर विकास अभियान अघि बढाएको देखिन्छ। यद्यपि केही क्षेत्रमा अपेक्षाकृत कम खर्च प्रगति देखिएकाले योजना कार्यान्वयनमा थप प्रभावकारिता, समयमै बजेट खर्च तथा परिणाममुखी विकास कार्यक्रमलाई प्राथमिकता दिदा गाउँपालिकाको विकास यात्रा अझ प्रभावकारी बन्न सक्ने सरोकारवालहाहरुको भनाई रहेको छ ।









प्रतिक्रिया