खोज–अनुसन्धान

खुसी नगरबासी, समृद्ध बुद्धभूमिको लक्ष्य सहित१ अर्ब ३६ करोडको बजेट पारित



कपिलवस्तु, ११ असार

बुद्धभूमि नगरपालिकाको उन्नाइसौँ नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३६ करोड ५२ लाख ३६ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
स्थानीय सरकारको सर्वोच्च नीतिगत तथा निर्णयात्मक मञ्चका रूपमा रहेको नगरसभाले विकास, सुशासन र समृद्धिको मार्गचित्रलाई कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सभाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, खानेपानी, रोजगारी तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
नगर प्रमुख श्रेष्ठले “खुसी नगरबासीः समृद्ध बुद्धभूमि” भन्ने मूल नारालाई सार्थक बनाउन गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले नगर गौरवका आयोजना तथा अधुरा योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गरिने उल्लेख गर्नुभयो।


नगर प्रमुख श्रेष्ठका अनुसार टिक्कर–बुढ्ढी–बिजगौरी सडक निर्माणलाई चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। साथै वैदेशिक रोजगारीमा रहेका युवा तथा उनीहरूका परिवारलाई लक्षित गर्दै “सामी र के हामी” कार्यक्रममार्फत सीप विकास, परामर्श तथा सहयोग उपलब्ध गराइनेछ।


नगरपालिकाले सूचना तथा सञ्चार प्रविधिमा आधारित सीपमूलक तालिम सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्ने नीति अघि सारेको छ। कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्न मासिक रूपमा कृषिबाली तथा पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिने, प्राङ्गारिक तथा कम्पोस्ट मल प्रवद्र्धनलाई निरन्तरता दिइने तथा आधुनिक कृषि प्रविधिको उपयोग बढाइने जनाइएको छ।


राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई सहज सेवा उपलब्ध गराउन आवश्यक सेवा कार्यालय स्थापना तथा सञ्चालन गर्ने नीति पनि नगरसभाले पारित गरेको छ। अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा विपन्न समुदायलाई लक्षित सामाजिक सुरक्षा तथा समावेशी कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ।


नगरसभाले स्थानीय तहको सफलताको आधार योजना निर्माण भन्दा पनि तिनको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने निष्कर्ष निकाल्दै पारदर्शिता, जवाफदेहिता र परिणाममुखी विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।


बुद्धभूमि नगरपालिकाले पछिल्ला वर्षहरूमा विकास निर्माण, सेवा प्रवाह सुधार तथा नागरिक सहभागिता अभिवृद्धिमा गरेका प्रयासलाई आगामी वर्ष थप संस्थागत र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको सफल कार्यान्वयनले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
नगरसभाले समृद्ध, व्यवस्थित र उत्तरदायी नगर निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र तथा नागरिक समाजबीचको सहकार्यलाई थप सुदृढ बनाउने सन्देश समेत दिएको छ।

प्रकाशित : ११ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६