ब्रेकिंग न्युज

पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्



टीकापुर (कैलाली), १४ असार

एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । सङ्क्रमित भनेपछि समाजले अझै हेलाको दृष्टिले हेर्ने भएकाले आफू बसेको भन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको उनीहरु बताउँछन् । लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउनुहुन्छ । लम्कीचुहा अस्पतालमा पनि एआरटी सेन्टर सञ्चालनमा छ तर त्यहाँ गए समाजमा पहिचान खुल्ने भएकाले टीकापुर आउने गरेको उहाँ बताउनुहुन्छ । “श्रीमान् एचआइभीकै कारण बित्नुभयो, मलाई त केही भएको छैन भनेकी छु”, उहाँ भन्नुहुन्छ, “थाहा पाएमा समाजले सरसापटी पनि गर्दैनन्, त्यसैले आफन्तको घर जाँदैछु भनेर टीकापुर अस्पतालमा आएर सेवा लिन्छु ।” टीकापुर अस्पतालमा लम्कीचुहा नगरपालिकाका मात्रै १६२ एचआइभी सङ्क्रमित उपचारका लागि आउने गरेका छन् । टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरबाट ५३१ एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन् । अस्पतालबाट एआरटी सेवा लिने एचआइभी सङ्क्रमितमा २०७ पुरुष, ३०४ महिला, ११ लैङ्गिक अल्पसङ्ख्यक र नौ जना बालबालिका छन् । अघिल्लो वर्षसम्म यो सङ्ख्या नौ सयसम्म थियो । बसाइँसराइ तथा अन्य पालिकामा पनि एआरटी सेन्टर खुलेपछि केही बिरामी अर्को पालिकाबाट औषधि सेवन गर्न थालेका छन् । सेन्टरमा कैलालीका नौ पालिका, बर्दिया र सुर्खेतका बिरामीले सेवा लिने गरेका छन् । यहाँबाट सेवा लिने टीकापुरका १३९ जना छन् भने अरु बिरामी अन्य पालिकाका हुन् । एचआइभी सङ्क्रमितलाई अझै समाजमा सम्मानजनक व्यवहार नभएकाले धेरैले लुकेर उपचार सेवा लिने गरेको अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेसन नेपाल (एएचएफ) नेपालले जनाएको छ । टीकापुर अस्पतालमा सेवा लिन आउने एचआइभी सङ्क्रमित पहिचान खुल्ने डरले अन्य पालिकाका धेरै आउने गरेका छन् भने टीकापुरका केही बिरामी अन्य पालिका धनगढी, लम्कीचुहा गएर सेवा लिने गेका छन् । टीकापुरमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालद्वारा सञ्चालित सेन्टरले सन् २०१२ देखि काम गरिरहेको छ । संस्थाले एचआइभी एड्स निदान, उपचार र हेरचाहमा सघाउँदै आएको एएचएफ नेपालका काउन्सिलर मीनबहादुर बोहरा बताउनुहुन्छ । “चालु आर्थिक वर्षमा संस्थाले उपचारका लागि अन्यन्त्र जानुपर्दा समस्या भएका ८३५ जनालाई यातायात खर्च सघाएको छ”, उहाँ भन्नहुन्छ, “३१६ जनालाई अस्पतालमा उपचार गर्न आउँदा पोषण सहयोगमार्फत खाना खुवाएको, स्वास्थ्य बिमामा नपाइने औषधि खरिद गर्नुपर्ने समस्या भएका २०१ जनालाई उपचार खरिदमा सघाएको, १२ बिरामीलाई आकस्मिक उपचारका लागि सघाएका छौँ ।” यसका साथै एचआइभी सङ्क्रमित सबैलाई स्वास्थ्य बिमामा आबद्ध गराउन सहयोग गर्ने गरेको छ । संस्थाले बिरामीले नियमति औषध सेवन गरे÷नगरेको निगरानी गर्ने, भाइरल लोड नियमित परीक्षणमा सघाउने गरेको छ । पालिकाअनुसार तथ्याङ्क हेर्दा टीकापुरका १३९, जानकीमा ८१, लम्कीचुहामा १६२, बर्दगोरियामा ५२, जोशीपुरमा ३३, भजनीमा १८, घोडाघोडीमा १८, मोहन्यालमा ४४, धनगढीका एक, बर्दियाका नौ, सुर्खेतका एक एचआइभी सङ्क्रमितले यहाँबाट सेवा लिने गरेका बोहराले जानकारी दिनुभयो । एचआइभी सङ्क्रमितलाई पोषणको समस्या, नियमित आम्दानीमा समस्या भइरहेको छ । टीकापुर र लम्कीचुहालगायतका केही पालिकाले पोषण सहयोग गरेपछि केही राहत भएको बिरामी बताउँछन् । मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया अर्की महिला श्रीमान् बितेपछि घरमा कमाउने कोही नभएको, जग्गाजमिन पनि नभएकाले आफूलाई दैनिक गुजारा चलाउनै समस्या भएको बताउनुहुन्छ । “पेट भर्नकै लागि समस्या छ । एउटा छोरी थिइन् विवाह गरेर गइन्”, उहाँ भन्नुहुन्छ, “मलाई हेर्ने कोही छैन, सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले पुग्दैन, पोषणका लागि पनि मासिक सहयोग पाएको भए हुने थियो ।” इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरु एचआइभी सङ्क्रमितको उपचार र हकहितका लागि अस्पतालमा रहेको एआरटी सेन्टरले राम्रो काम गरिरहेको बताउनुहुन्छ । “अझै समुदायमा रोग निदानका लागि काम गर्नुपर्ने र उपचारमा ल्याउन स्थानीय पालिकाले सघाउनुपर्छ”, पनेरु भन्नुहुन्छ, “उनीहरूका समस्या समाधानका लागि स्थानीय सरकार, सङ्घसंस्था र सरोकारवाला सबैको समन्वय र सहयोग आवश्यक छ ।” –––

Powered By  Orson Infotech

प्रकाशित : १४ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६