खोज–अनुसन्धान

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड



सिद्धार्थनगर (भैरहवा), १६ असार

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री, वैज्ञानिक र प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिइएको छ । सोमबार गोष्ठीको उद्घाटन गर्दै नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक सुशीलसिंह राठौरले सूचना तथा सञ्चार प्रविधिको विकाससँगै साइबर अपराध, वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन तथा अन्तरदेशीय अपराधका चुनौती बढ्दै गएको बताउनुभयो । उहाँले अनुसन्धान अधिकृतको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । हत्या, मानव बेचबिखन, अपहरण, बन्धक, कुटपिटलगायत गम्भीर प्रकृतिका अपराधमा निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गर्न निर्देशन दिँदै उहाँले डिजिटल फरेन्सिक, एएफआइएस, सिसीआइएस, क्रिमिनल फिङ्गर प्रिन्ट डाटाबेस तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाउनुपर्ने धारणा राख्नुभयो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी एवं नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले अपराध अनुसन्धानलाई समयसापेक्ष, व्यावसायिक र विश्वसनीय बनाउन प्रदेशभरका अनुसन्धान अधिकृतको क्षमता विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो । अनुसन्धानमा एकरूपता, वैज्ञानिक प्रमाण सङ्कलन, प्रभावकारी अभियोजन तथा अदालतमा सफल परीक्षणका लागि प्रहरी, सरकारी वकिल, न्यायपालिका र सरोकारवाला निकायबीचको समन्वयलाई थप सुदृढ बनाइने उहाँको भनाइ छ । गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विज्ञ अधिकृतहरूले साइबर अपराध, डिजिटल प्रमाण व्यवस्थापन, वैज्ञानिक अनुसन्धान प्रणाली तथा अनुसन्धानका नयाँ प्रविधिबारे प्रशिक्षण दिएका थिए । सरकारी वकिल कार्यालयका अधिकारी, जिल्ला अदालत तथा उच्च अदालतका न्यायाधीशहरूले अनुसन्धानका क्रममा कानुनी प्रक्रिया, प्रमाण सङ्कलन, अभियोजन र न्यायिक परीक्षणका विषयमा प्रशिक्षण तथा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका जिल्ला प्रहरी प्रमुख, मुद्दा शाखा प्रमुख, अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृत, सरकारी वकिल, न्यायिक क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो । गोष्ठीमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका साइबर अपराध अनुसन्धान अधिकृत उज्ज्वल खड्काले प्रहरीले अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरी र सञ्चारमाध्यमबीच विश्वास, पारदर्शिता र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले तथ्यमा आधारित सूचना प्रवाह, जिम्मेवार सञ्चार र समाजमैत्री तथा मिडियामैत्री प्रहरी सेवाले अपराध नियन्त्रणमा समेत सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो । प्रदेश प्रहरी कार्यालयका अनुसार गोष्ठीमा प्रदेशभर भएका अपराधको अनुसन्धान अवस्था, देखिएका चुनौती, उत्कृष्ट अभ्यास, अनुसन्धानमा प्रयोग भइरहेका आधुनिक प्रविधि तथा अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने उपायबारे विस्तृत समीक्षा र छलफल गरिएको थियो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरी अनुसन्धानलाई अझ प्रभावकारी, उत्तरदायी र प्रविधिमैत्री बनाइने कार्यालयले जनाएको छ ।

प्रकाशित : १६ असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६