कपिलवस्तु, १६ असार
बाणगङ्गा नगरपालिकाले स्वास्थ्य, पोषण तथा विद्यालय क्षेत्रको गुणस्तर अभिवृद्धिलाई संस्थागत गर्दै पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका दिगोपना, पोषणमैत्री स्वास्थ्य संस्था घोषणा तथा अस्वस्थकर (जंक) खाना मुक्त विद्यालय क्षेत्र घोषणा कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न गरेको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्य तथा बाणगङ्गा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरलाई मातृ तथा शिशु स्वास्थ्य, पोषण सुधार र विद्यालयस्तरमा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने स्थानीय सरकारको प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाणगङ्गामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने अवस्था सुनिश्चित भएको छ। उपलब्ध विवरण अनुसार १,१९० प्रसूति मध्ये १,१८९ जना (९९.९२ प्रतिशत) स्वास्थ्य संस्थामै प्रसूति भएको र चार पटक गर्भजाँच गर्ने महिलाको प्रतिशत ९८.९१ पुगेको छ भने तीन पटक प्रसूति जाँच पूरा गर्ने दर ९८.६६ प्रतिशत रहेको छ। यी सूचकहरूले नगरपालिकाले मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको पुष्टि गर्छन्।

त्यसैगरी नगरभित्रका स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री सेवा प्रवाहका निर्धारित मापदण्ड पूरा गराई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। यसबाट गर्भवती, सुत्केरी महिला, बालबालिका तथा किशोरीहरूको पोषण अवस्थामा थप सुधार आउने अपेक्षा गरिएको छ।
कार्यक्रममा विद्यालय तहमा बढ्दो जंक फुडको प्रयोग नियन्त्रण, स्वस्थ खानपानको बानी विकास तथा विद्यार्थीमा पोषण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अस्वस्थकर (जंक) खाना मुक्त विद्यालय क्षेत्र घोषणा गरिएको हो। नगरपालिकाले विद्यालय परिसरमा जंक फुड बिक्री–वितरण रोक्ने, स्वस्थकर स्थानीय खाद्य परिकारलाई प्राथमिकता दिने तथा नियमित अनुगमन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रमुख अतिथिले स्वास्थ्य, शिक्षा र पोषणलाई एकीकृत रूपमा अघि बढाउँदा मात्र समृद्ध र स्वस्थ समाज निर्माण सम्भव हुने उल्लेख गर्दै बाणगङ्गा नगरपालिकाले थालेको अभियान प्रदेशकै लागि अनुकरणीय रहेको बताए। स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच विस्तार, सुरक्षित मातृत्व, पोषण सुधार तथा विद्यालयमा स्वस्थ वातावरण निर्माणमा गरेको लगानी दीर्घकालीन रूपमा प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।
नगर प्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकाय तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य र पोषण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो।
बाणगङ्गा नगरपालिकाको यो घोषणा औपचारिक उपलब्धि मात्र नभइ, दिगो विकास लक्ष्य (क्म्न्क) अन्तर्गत सुरक्षित मातृत्व, शून्य भोकमरी, गुणस्तरीय स्वास्थ्य सेवा र स्वस्थ जीवनशैली प्रवद्र्धनतर्फको व्यवहारिक कदम हो। मातृ मृत्यु तथा नवजात शिशु मृत्यु दर न्यूनीकरण, कुपोषण नियन्त्रण र विद्यालय उमेरका बालबालिकामा स्वस्थ खाने बानी विकासका लागि यस्ता अभियान प्रभावकारी मानिन्छन्।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णुप्रसाद पंथी, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता, नगर उपप्रमुख रिता कुमारी चौधरीको स्वागत मन्तब्य र स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, वडा नं. ७ का वडा अध्यक्ष एवम् सामाजिक विकास शाखाका संयोजक विष्णु गिरी, बाणगंगा उच्च माविका प्रअ कुलराज पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, सरोकारवालाहरुको भब्य उपस्थिती रहेको थियो ।
घोषणाको वास्तविक सफलता भने यसको दिगोपनामा निर्भर रहनेछ। स्वास्थ्य संस्था, विद्यालय, अभिभावक, समुदाय तथा स्थानीय सरकारबीचको निरन्तर समन्वय, नियमित अनुगमन र सचेतनामूलक गतिविधिले मात्र यी उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न सक्नेछ।
समग्रमा, बाणगङ्गा नगरपालिकाले स्वास्थ्य, पोषण र शिक्षालाई एकै सूत्रमा बाँध्दै स्वस्थ, सुरक्षित र जिम्मेवार समुदाय निर्माण तर्फ महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ।









प्रतिक्रिया