गण्डकी

भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट



चितवन, १७ असार

बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् । दैनिक तीन हजार हाराहारी बिरामी आउँदा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मर्मतसंहार गरी थप अर्काे मेसिन जडान गरेर आजदेखि परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागिएको हो । मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा आएर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो । प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिने उहाँले बताउनुभयो । हाल अस्पतालमा १० वटा काउन्टरबाट टिकट काट्ने गरिएको छ । क्रमशः नसक्नेका लागि एकदुई वटा मात्रै काउन्टर राख्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म अस्पताललाई काउन्टरलेस बनाउने योजनामा छु, नसक्नेहरूका लागि एकदुई वटा काउन्टरमा झार्नुपर्छ ।” मोबाइल एपबाट समेत काम गर्न मिल्ने गरी योजना बनाएको डा बगालेले बताउनुभयो । स्वास्थ्य बिमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र मान्य अवधिसमेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ । आजदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै कामसँगै हुनेछ । क्रमशः काउन्टर घटाउँदै लैजाने उहाँले बताउनुभयो । रगत परीक्षणलगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था गरिएको छ । परीक्षण गर्दा दिईएको रसिदमा रहेको बार कोर्ड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरिएको छ । यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् । निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि यहाँ बिरामीको चाप बढ्दै गएको छ । अस्पताल आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गर्दछन् । सबै सुविधा अस्पतालमा हुने भएपछि टाढाटाढाबाट पनि बिरामी आउने गरेका छन् । —

Powered By  Orson Infotech

प्रकाशित : १७ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६