गुल्मी, १८ असार
पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै पूर्णता पाउन सकेको छैन । जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शय्याको अस्पताल बनाउन चार पटकसम्म म्याद थप गरिए पनि हालसम्म काम सम्पन्न नहुँदा अस्पतालमा आउने बिरामी समस्यामा परेका छन् । लामो समयसम्म भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तार प्रभावित हुनुका साथै दैनिक सेवा प्रवाहमा समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । विसं २०७८ असार १८ गते स्वच्छन्द-बानियाँ जेभी, मकवानपुरले उक्त अस्पतालको नयाँ भवन निर्माणको जिम्मा लिएको थियो । रु २५ करोड ९४ लाख लागतमा निर्माण हुन लागेको भवन तोकिएको समयमा सम्पन्न नभएपछि पटकपटक म्याद थप गर्नुपरेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाका सूचना अधिकारी पुष्पराज भट्टका अनुसार हालसम्म भवनको भौतिक प्रगति ८५ प्रतिशत र वित्तिय ७२ प्रतिशत भएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले विसं २०८० असार १७ गतेभित्र काम सम्पन्न गर्नुपर्नेमा निर्धारित समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८० असार १८ देखि पुस १७ गतेसम्म म्याद थप गरिएको थियो । दोस्रो पटक विसं २०८० पुस १८ देखि विसं २०८१ पुस १७ गतेसम्म, तेस्रो पटक विसं २०८१ पुस १८ देखि विसं २०८२ कात्तिक ७ गतेसम्म र चौँथो पटक विसं २०८२ कात्तिक ९ गतेदेखि गत जेठ १७ सम्म म्याद थप गरिएको थियो । बाँकी काम सम्पन्न गर्न पाँचौँ पटक म्याद थप गर्ने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । “भवन बाहिरको संरचनालाई अन्तिम रुप दिन तथा ट्रान्सफर्मर, जेनेरेटर जडानलगायत काम अझै बाँकी छन् । निर्माण व्यवसायीले कम जनशक्ति राखेर निर्माण गरिरहेकाले पनि कामले गति लिएको छैन”, सूचना अधिकारी भट्टले भन्नुभयो । उहाँका अनुसार निर्माण व्यवसायीलाई शीघ्र भवन सम्पन्न गराउन पत्राचार र ताकेता गर्दै आएको छ । भवन निर्माणमा भएको ढिलाइले अस्पतालको दैनिक सेवा सञ्चालनमा समस्या थपिएको छ । पचास शय्यामा स्तरोन्नति भइसक्दा पनि पुरानै संरचनाबाट सेवा दिनुपरेकाले सेवाग्राही र स्वास्थ्यकर्मी दुवैले सास्ती भोग्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । गुल्मी अस्पतालमा दैनिक २५० जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएका अस्पतालका प्रमुख विभव बस्यालले जानकारी दिनुभयो । बिरामी जाँच गर्ने कोठा पर्याप्त नहुँदा एउटै कोठाबाट सेवा दिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले रङरोगन, विद्युतीय उपकरण जडान, फिनिसिङ्लगायत काम समयमा नगरिदिँदा सेवा प्रवाह प्रभावित हुँदै आएको उहाँको भनाइ छ । अस्पतालका प्रमुख बस्यालले निर्माण सुस्त गतिमा भइरहेकाले भवन अभावका कारण अस्पतालको सेवा विस्तार र व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । सघन उपचार कक्ष (आइसियु) सञ्चालन तथा मिर्गौलाको डायलाइसिस सेवा विस्तार गर्न समस्या भइरहेको भन्दै बिरामीका लागि प्रतिक्षा गर्ने स्थान पनि अभाव रहेको उहाँको भनाइ छ । नयाँ भवन सम्पन्न भई सञ्चालनमा ल्याउनका लागि रेसुङ्गा नगरपालिकाले पनि पटकपटक निर्माण कम्पनीका प्रतिनिधिलाई ताकेता गरिरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । गुल्मी अस्पतालबाट हाल अर्घाखाँची, बागलुङ र प्युठानसम्मका बिरामीहरुले सेवा लिँदै आइरहेका छन् । —









प्रतिक्रिया