ब्रेकिंग न्युज

उपभोक्तालाई स्वरोजगार र हरियालीतर्फ उन्मुख गर्दै मायादेवी साझेदारी वनद्वारा ११ हजार ५ सय फलफूलका बिरुवा निःशुल्क



कपिलवस्तु, १९ असार

वन संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्दै स्थानीय उपभोक्ताको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहले ११ हजार ५ सय थान विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरेको छ।
समूहको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उपभोक्ताहरूलाई आँप, लिची, कटहर र कागतीका बिरुवा वितरण गरिएको हो। वितरण गरिएका बिरुवामध्ये ७ हजार थान आँप, २ हजार ५ सय थान लिची, १ हजार थान कटहर र १ हजार थान कागती रहेका छन्।
साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश जयसवालले उपभोक्ताको माग तथा स्थानीय माटोको अनुकूलतालाई ध्यानमा राखी बिरुवा छनोट गरिएको जानकारी दिए। उनका अनुसार वन संरक्षणसँगै उपभोक्ताको आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।


अध्यक्ष जयसवालले वितरण गरिएका बिरुवाको उचित संरक्षण र नियमित हेरचाह गर्न उपभोक्तासँग आग्रह गर्दै भने, “हामीले वनको संरक्षण मात्र होइन, उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले पनि यो कार्यक्रम सञ्चालन गरेका हौँ। बिरुवाहरूको उचित संरक्षण र व्यवस्थापन भएमा यसले भविष्यमा राम्रो आम्दानीको आधार तयार गर्नेछ।”
पछिल्लो समय वन उपभोक्ता समूहहरू वन संरक्षणका परम्परागत कार्यमा मात्र सीमित नरही उत्पादनमुखी तथा आय आर्जनसँग जोडिएका कार्यक्रम सञ्चालनतर्फ अग्रसर भइरहेका छन्। मायादेवी साझेदारी वनको यो पहलले वातावरण संरक्षणका साथै घरघरमा फलफूल बगैँचा विस्तार, हरियाली प्रवद्र्धन तथा स्थानीय उत्पादन वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी आँप, कागती, लिची र कटहर जस्ता व्यावसायिक सम्भावना भएका फलफूलका बिरुवाले भविष्यमा उपभोक्तालाई स्वरोजगार तथा अतिरिक्त आम्दानीको अवसर सिर्जना गर्नुका साथै खाली जमिनको सदुपयोग गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

निःशुल्क रूपमा गुणस्तरीय फलफूलका बिरुवा प्राप्त गरेपछि स्थानीय उपभोक्ताहरू उत्साहित भएका छन्। वन उपभोक्ता समूहले आगामी दिनमा पनि वातावरण संरक्षण, उत्पादन वृद्धि र उपभोक्ताको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित : १९ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६