ब्रेकिंग न्युज

पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय



काठमाडौँ, २२ असार

पूर्वी नेपालको पर्यटन परवद्र्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान सुरु गरेको जनाएका छन् । नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसायी सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा परवद्र्धनात्मक भ्रमण तथा अन्तरक्रिया गरेको छ । महिला व्यवसायीहरुले यही असार १८ देखि २१ गतेसम्म पूर्वी नेपालको विभिन्न गन्तव्यको भ्रमण गरेका थिए । पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीयस्थलको अवलोकन गर्दै स्थानीय सरोकार भएका व्यक्ति तथा समुदायसँग छलफल गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । भ्रमणका क्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, घरबास कार्यक्रमका सञ्चालक र स्थानीय समुदायसँग पर्यटन विकासका चुनौती र आगामी रणनीतिका विषयमा संवाद गरेको थियो । इलामको प्रमुख पर्यटकीयस्थल श्री अन्तुमा आयोजित कार्यक्रममा सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा नेपालकै समृद्ध क्षेत्र भएको बताउनुभएको बोर्डले जनाएको छ । “पूर्वी नेपालको सौन्दर्यलाई स्थानीय कृषि, संस्कृति र जीवनशैलीसँग जोडेर ‘एग्रो–टुरिजम’का रूपमा विकास गर्न आवश्यक छ, यसले नेपालको ग्रामीण अर्थतन्त्र अझ सशक्त बन्नेछ,” उहाँले भन्नुभयो । प्रत्येक स्थानीय तहले आफ्ना मौलिक विशेषता पहिचान गरी एकीकृत पर्यटन ‘प्याकेज’ निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । अन्तु पर्यटन व्यवसायी सङ्घकी कोषाध्यक्ष कञ्चना बरालले नेपालकै पहिलो सूर्योदय देखिने अन्तु क्षेत्रमा न्यून बजेटका होमस्टेदेखि उच्चस्तरीय तारे होटलसम्मको सुविधा उपलब्ध भइसकेको जानकारी दिनुभयो । उहाँले पर्यटकीय पूर्वाधार निर्माणमा सरकारी बजेट बढाउन र स्पष्ट पर्यटन नीति ल्याउन सरकारसँग माग गर्नुभयो । यस्तै, अन्तुडाँडा सामुदायिक ‘होमस्टे’का अध्यक्ष धनकुमार आलेले पूर्वी नेपालका गाउँमा पर्यटन विस्तारका लागि होमस्टे सञ्जाललाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले पर्यटनलाई विकासको मुख्य आधार मानेर सडक, पदमार्ग र अन्य पूर्वाधारमा लगानी गरिरहेको बताउनुभयो । चालु आर्थिक वर्षमा पर्यटन विकासका लागि बजेट विनियोजन गरिएको र महिला तथा स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । काठमाडौँबाट सुरु भएको पर्वद्र्धनात्मक भ्रमण टोलीले कोशी ब्यारेज, झापा, इलामको श्रीअन्तु र बराहक्षेत्रलगायत गन्तव्यको अवलोकन गरेको थियो । उक्त अभियानले नयाँ गन्तव्यको प्रचारप्रसारका साथै महिला उद्यमशीलता र दिगो पर्यटन विकासमा ठूलो सहयोग पुग्ने बताइएको छ ।

प्रकाशित : २२ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६