ब्रेकिंग न्युज

वन जोगाएर विकासको मेरुदण्ड बन्दै श्रृंगीघाट सामुदायिक वनस्थानीय सरकारसँग मेगा साझेदारीको प्रस्ताव, राजस्व स्थानीयमै राख्न माग



लक्ष्मण प्रसाद बेल्बासे

बाणगंगा (कपिलवस्तु), साउन ९

वन संरक्षणलाई हरियाली जोगाउने अभियानमा सीमित नराखी स्थानीय विकास, सामाजिक उत्तरदायित्व र आर्थिक समृद्धिको आधारका रूपमा स्थापित गर्ने उदाहरण बनेको छ श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूह। वनबाट प्राप्त स्रोत र आम्दानीलाई समुदायमै लगानी गर्दै आएको समूहले अब स्थानीय सरकारसँग साझेदारीमा मेगा परियोजना सञ्चालन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ।
समूहका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी (सुशील) ले संचारकर्मीसंगको संक्षिप्त प्रतिक्रियामा उक्त विचार राख्नु भएको हो । अध्यक्ष ठकुरीले आफुहरुले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले वन संरक्षणसँगै पूर्वाधार, सामाजिक विकास, विपद् व्यवस्थापन, स्वास्थ्य, सीप विकास र वातावरणीय संरक्षणलाई समान प्राथमिकतामा राख्दै सामुदायिक वनलाई स्थानीय विकासको प्रभावकारी साझेदारका रूपमा स्थापित गर्ने स्पष्ट रणनीति रहेको बताउनु भयो ।


अध्यक्ष ठकुरीले सामुदायिक वनलाई स्थानीय सरकारको विकास साझेदारका रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिँदै बाणगंगा नगरपालिकासँग नीतिगत तहमा समेत प्रतिनिधित्व आवश्यक रहेको धारणा व्यक्त गरे। उनका अनुसार नगरका गौरवका योजनामा सामुदायिक वनको सहभागिता सुनिश्चित गरिए विकासको गति अझ प्रभावकारी बन्न सक्छ।
उनले प्रदेश सरकारलाई सामुदायिक वनले बुझाउँदै आएको २५ प्रतिशत राजस्व करमध्ये १० प्रतिशत स्थानीय तहले प्राप्त गर्ने व्यवस्था कार्यान्वयन गर्दै उक्त रकम प्रत्यक्ष स्थानीय तहमा नै बुझाउन सकिने प्रणाली विकास गर्न आग्रह गरे। यसबाट स्थानीय सरकार र सामुदायिक वनबीचको साझेदारी थप मजबुत हुने उनको विश्वास ब्यक्त गरे ।
वनबीचको सहकार्यलाई संस्थागत बनाउन नगरस्तरीय सामुदायिक वन सञ्जाल गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष ठकुरीले एउटै उद्देश्य भएका वन उपभोक्ता समूहहरूबीच अनुभव, स्रोत र योजना आदान–प्रदानको प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए।
वनजन्य उत्पादनको उपयोगका विषयमा पनि उनले व्यवहारिक सुधारको आवश्यकता औँल्याए। सालको काठको राजस्व दर अत्यधिक रहेकाले स्थानीय उपभोक्ताले आफ्नै क्षेत्रको काठ प्रयोग गर्न कठिनाइ भोगिरहेको उल्लेख गर्दै स्थानीय काठको प्रयोगलाई प्रोत्साहन गर्न राजस्व दर पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरे।
उनका अनुसार समुदायको प्राकृतिक सम्पत्तिबाट प्राप्त आम्दानी पुनः समुदायकै विकासमा खर्च गर्ने अवधारणालाई समूहले व्यवहारमै उतारेको छ।
वन संरक्षणमा आधुनिक प्रविधिको प्रयोगसमेत प्रभावकारी बन्दै गएको छ। अध्यक्ष ठकुरीका अनुसार ड्रोन प्रविधिको प्रयोगपछि वन चोरीका घटनामा उल्लेखनीय कमी आएको छ। यसले वन संरक्षणलाई थप प्रभावकारी र पारदर्शी बनाएको उनको भनाइ छ।
समूहले वन संरक्षणलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदायमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर, नेपाल रेडक्रस सोसाइटीलाई उपकरण सहयोग, दाहसंस्कारका लागि दाउरा व्यवस्थापन, वृक्षारोपण, वन्यजन्तु संरक्षण तथा वातावरणीय जनचेतना कार्यक्रमले समूहको सामाजिक प्रतिबद्धता झल्काएको छ।
पूर्वाधार विकासतर्फ पनि समूहले उल्लेखनीय लगानी गरेको छ। बाणगंगा नगरपालिकासँग लागत साझेदारीमा १ करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी गरी सिँचाइ कुलो निर्माण, सामुदायिक भवन, सडक स्तरोन्नति तथा सौन्दर्यीकरणका कार्य सम्पन्न गरिएको छ। आगलागी नियन्त्रणका लागि आधुनिक प्रविधि जडान गरी वन सुरक्षालाई थप मजबुत बनाइएको छ।
आगामी दिनमा वन संरक्षणलाई थप सुदृढ बनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, सीपमूलक तालिम, वातावरण संरक्षण तथा दिगो विकासका नवीन कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। अध्यक्ष ठकुरीले सबै सरोकारवालाको सुझाव र सहकार्यबाट संस्थालाई अझ प्रभावकारी र नमुना सामुदायिक वनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
वन संरक्षण, सामाजिक उत्तरदायित्व, स्थानीय सरकारसँगको साझेदारी र आधुनिक व्यवस्थापनलाई समानान्तर रूपमा अघि बढाएको श्रृंगीघाट सामुदायिक वनले सामुदायिक वन प्राकृतिक स्रोत व्यवस्थापनको संरचना मात्र नभई स्थानीय समृद्धिको प्रभावकारी विकास साझेदार बन्न सक्ने सशक्त सन्देश दिएको छ। वनबाट प्राप्त स्रोतलाई समुदायमै पुनः लगानी गर्ने यसको अभ्यासले सामुदायिक वन व्यवस्थापनलाई संरक्षणमुखी मात्र होइन, विकासमुखी मोडेलका रूपमा पनि स्थापित गरेको देखिन्छ।

प्रकाशित : ९ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६