कपिलवस्तु, साउन १२
भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको करुणा, अहिंसा र आत्मशुद्धिको जीवनदर्शनलाई व्यवहारमा उतार्ने महत्वपूर्ण परम्परा वर्षावास यस वर्ष पनि कपिलवस्तुको ऐतिहासिक मधुवनधाममा सुरु हुँदैछ। असार पूर्णिमादेखि प्रारम्भ हुने तीन महिने वर्षावासका लागि म्यान्मारबाट वरिष्ठ बौद्ध भिक्षुहरू कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मधुवनधाम आइपुगेका छन्।
मधुवनधाम, प्राचीन कपिलवस्तु महावन अन्तर्गत पर्ने तथा बाणगंगा–८ र अर्घाखाँचीको शीतगंगा नगरपालिका–१४ को सीमाक्षेत्रमा अवस्थित एक महत्वपूर्ण बौद्ध साधनास्थल हो। परम्परा अनुसार यही क्षेत्र भगवान बुद्धले महासमय सूत्र देशना गर्नुभएको तथा पाँच सय भिक्षुले अर्हतत्व प्राप्त गरेको पवित्र स्थलका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ। यस ऐतिहासिक भूमिमा अन्तर्राष्ट्रिय भिक्षुसंघको वर्षावास सुरु हुनुलाई बौद्ध जगतले विशेष महत्वका साथ हेरेको छ।

बौद्ध विनयअनुसार वर्षायाममा अत्यधिक हिँडडुल गर्दा जमिनमा देखा पर्ने असंख्य साना–ठूला जीवजन्तुको अनाहकमा हिंसा हुन सक्ने भएकाले भिक्षुहरूले लगातार तीन महिना एकै स्थानमा बस्ने परम्परा रहेको छ। यही अवधिलाई वर्षावास भनिन्छ। भगवान बुद्धले स्थापना गर्नुभएको विनय अनुसार यस समयमा भिक्षुहरूले विहार वा साधनास्थलमै बसेर ध्यान, शील, समाधि र प्रज्ञाको अभ्यास गर्दै चित्त शुद्ध गर्ने, धर्म अध्ययन गर्ने तथा लोककल्याणको भावनालाई अझ सुदृढ बनाउने व्यवस्था छ।
यस वर्ष मधुवनधाममा वर्षावासका लागि आवश्यक पूर्वाधार विस्तार पनि भइरहेको छ। नेपाली तथा विदेशी उपासक–उपासिकाहरूको सहयोगमा भिक्षुहरूको बसोबासका लागि नौ वटा कुटी निर्माण गरी दान गर्ने कार्यक्रम तय गरिएको छ। यसले मधुवनधामलाई अन्तर्राष्ट्रिय बौद्ध साधना केन्द्रका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीय बौद्ध समुदायका अनुसार वर्षावास धार्मिक अनुष्ठान मात्र नभई प्रकृति संरक्षण, सबै प्राणीप्रति करुणा, आत्मअनुशासन र आध्यात्मिक रूपान्तरणको सन्देश बोकेको जीवनपद्धति हो। वर्षायाममा जीवजन्तुको संरक्षण गर्दै मन, वचन र कर्मलाई शुद्ध बनाउने बुद्धको शिक्षा आजको वातावरणीय संरक्षण र शान्तिपूर्ण सहअस्तित्वका लागि पनि उत्तिकै सान्दर्भिक रहेको उनीहरूको भनाइ छ।
मधुवनधाममा विदेशी भिक्षुहरूको आगमनसँगै धार्मिक पर्यटन, बौद्ध अध्ययन तथा ध्यान–साधनामा रुचि राख्ने स्वदेशी तथा विदेशी श्रद्धालुको आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको छ। ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो क्षेत्रको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा वर्षावास कार्यक्रमले नयाँ आयाम थप्ने विश्वास गरिएको बौद्ध शिक्षाका जानकार एवम् स्थानियबासी पोमनारायण पौडेलले बताउनु भयो ।
तीन महिना सम्म चल्ने वर्षावास अवधिभर भिक्षुहरूले नियमित ध्यान, धर्मदेशना, विनय अभ्यास तथा आध्यात्मिक साधनामा समय व्यतीत गर्नेछन्। बुद्धले देखाउनुभएको करुणा, अहिंसा र आत्मजागरणको मार्गलाई व्यवहारमा उतार्ने यो परम्पराले आधुनिक समाजलाई पनि संयम, सहअस्तित्व र प्रकृतिप्रतिको जिम्मेवारीको गहिरो सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया