कपिलवस्तु, साउन १३
नेकपा (एमाले) कपिलवस्तुले पार्टीका जिल्ला कमिटी सदस्य तथा सामाजिक व्यक्तित्व स्वर्गीय राम मिलन थारूको स्मृतिमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरेको छ। बुधबार जिल्ला कमिटीको आयोजनामा बाणगंगा नगरपालिका–१० मझौवास्थित स्वर्गीय थारूको निवासमा आयोजित कार्यक्रममा उहाँको राजनीतिक, सामाजिक तथा संगठन निर्माणमा पु¥याएको योगदानको चर्चा गरिएको थियो।

कार्यक्रममा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले स्वर्गीय थारू इमानदार, अनुशासित र जनतासँग सदैव जोडिएर काम गर्ने समर्पित पार्टी कार्यकर्ता रहेको उल्लेख गर्दै उहाँले संगठन विस्तार, जनसेवा तथा सामाजिक सद्भाव कायम गर्न खेलेको भूमिका दीर्घकालसम्म स्मरणीय रहने बताउनुभयो। उहाँले दुःखको यस घडीमा पार्टी सधैं शोकसन्तप्त परिवारको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले शोक मन्तव्य व्यक्त गर्दै स्वर्गीय थारूको निधनले पार्टीले एक जिम्मेवार, सक्रिय र निष्ठावान् कार्यकर्ता गुमाएको बताउनुभयो। उहाँले स्वर्गीय थारूका आदर्श, व्यवहार र समाजप्रतिको सेवाभाव नयाँ पुस्ताका लागि प्रेरणादायी रहने धारणा राख्नु भयो।

५५ वर्षको उमेरमा साउन ७ गते आफ्नै निवास मझौवामा स्वर्गीय थारूको असामयिक निधन भएको थियो। उहाँको निधनले पार्टी संगठनसँगै स्थानीय समुदायलाई समेत अपूरणीय क्षति पुगेको एमाले कपिलवस्तुले जनाएको छ।
श्रद्धाञ्जली सभामा पूर्व राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, एमाले नेता झविलाल पोख्रेल, डम्मर शर्मा, बाबुराम आचार्य, शंकर पाण्डे, सी.बी. गहतराज लगायतका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले राजनीतिक संगठन चुनाव र सत्ता केन्द्रित नभई आफ्ना समर्पित कार्यकर्ताको योगदानलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्। स्वर्गीय राम मिलन थारूले छाडेर जानुभएको निष्ठा, सामाजिक उत्तरदायित्व र जनसेवाको भावना आगामी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा रहने विश्वास व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न भएको एमाले कपिलवस्तुले जनाएको छ ।










प्रतिक्रिया