लक्ष्मण प्रसाद बेल्बासे
कपिलवस्तु, बाणगंगा १५ साउन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–५, मधौलियामा अवस्थित मधौलिया सामुदायिक वन न्यून लागत, आन्तरिक स्रोत परिचालन तथा स्थानीय उपभोक्ताको श्रमदानबाट छोटो अवधिमै नमूना पर्यापर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ।
मधौलिया सामुदायिक वन उपभोक्ता समूहले ४० वर्षे वैज्ञानिक वन व्यवस्थापन योजना अन्तर्गत सम्पन्न गर्नुपर्ने करिब ८० प्रतिशत काम ६ वर्षमै सम्पन्न गरेको समूहका अध्यक्ष खडानन्द गौतमले बताउनुभयो। उहाँले सामुदायिक वनले वन संरक्षणसँगै पर्यावरणीय सन्तुलन, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याएको धारणा राख्नुभयो।

अध्यक्ष गौतमका अनुसार मधौलिया सामुदायिक वन क्षेत्रमा नियमित आम्दानीको स्रोतको खोजी भइरहेका बेला स्थानीय समाजसेवी तुल्सीराम पोखरेलले निर्माण गर्नुभएको सप्त देउराली मन्दिर वरपरको उजाड तथा अतिक्रमित क्षेत्रलाई व्यवस्थित गरी आकर्षक उद्यान निर्माण गर्ने अवधारणा अघि सारिएको थियो। त्यसपछि स्थानीय उपभोक्ता, समाजसेवी तथा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त बैठकबाट पार्क निर्माण गर्ने निर्णय गरिएको थियो।

तत्कालीन जिल्ला वन कार्यालय कपिलवस्तुको पहलमा ‘एक वन–एक उद्यान’ कार्यक्रम अन्तर्गत रु. ५ लाख बजेट विनियोजन भएपछि उद्यान निर्माणले गति लिएको थियो। उक्त बजेटसँगै सामुदायिक वनका पदाधिकारी, स्थानीय उपभोक्ता र स्वयंसेवकहरूको निःशुल्क श्रमदानबाट उद्यान निर्माण सम्पन्न भएको हो।
समूहका कार्यवाहक अध्यक्ष तुल्सी प्रसाद अर्यालले उद्यानको स्थापना, विकास र आगामी योजनाबारे जानकारी गराउँदै स्थानीय समुदायको एकता, जनश्रमदान र सरकारी निकायको सहयोगकै कारण उद्यानले छोटो समयमै आफ्नो अलग पहिचान बनाउन सफल भएको बताउनुभयो।

हाल उद्यान क्षेत्रमा करिब १,००० भन्दा बढी बहुमूल्य बिरुवा रोपिएका छन्। बालबालिकासहित सबै उमेर समूहलाई लक्षित गरी पैदल मार्ग, विश्रामस्थल तथा अन्य पूर्वाधार निर्माण गरिएको छ। उद्यानले स्थानीय स्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै हजारौँ कार्यदिन बराबरको रोजगारी उपलब्ध गराएको समूहले जनाएको छ।
गत आर्थिक वर्षमा करिब २८ हजार पर्यटकले भ्रमण गरेको यस उद्यानमा चालु आर्थिक वर्षमा ३५ हजारभन्दा बढी पर्यटक पुगेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्र रु. १८ लाख ५१ हजार २ सय ५० आम्दानी भएको जानकारी दिइएको छ। अहिले उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा दीर्घकालीन विकास योजना समेत तयार भइरहेको छ।
साधारण सभाले उद्यानलाई थप संस्थागत र व्यवस्थित बनाउन सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि, २०७५ तथा संस्था दर्ता नियमावली, २०३४ बमोजिम प्रक्रिया अघि बढाउने प्रस्ताव माथि छलफल गरेको छ।

उद्यानको आगामी कार्ययोजना अन्तर्गत विधान तथा नियमावली तयार गरी संस्था दर्ता गर्ने, आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने, बाँस, खर, काठ तथा ढुङ्गाको प्रयोग गरी प्राकृतिक शैलीका विश्रामस्थल निर्माण गर्ने, करिब ३५ हजार फूलका बिरुवाको नर्सरी स्थापना गरी व्यवसायिक रूपमा उत्पादन तथा बिक्री वितरण गर्दै स्थानीयस्तरमा थप रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ।
सामुदायिक वन संरक्षण, जैविक विविधता संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन विकास र स्थानीय आयआर्जनलाई एकसाथ जोड्दै मधौलिया वन उद्यानले न्यून लागतमा पनि दिगो विकास सम्भव हुने उदाहरण प्रस्तुत गरेको स्थानिय उपभोक्ताहरुको भनाई रहेको छ ।










प्रतिक्रिया