ब्रेकिंग न्युज

भूमिहीन पहिचान गरी राज्यले जग्गाको स्वामित्व प्रदान गर्छ बाणगंगा



कपिलवस्तु, २४ भदौ

बाणगंगा नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने प्रक्रिया तीव्र पारिएको छ। वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूलाई राज्यको तर्फबाट जग्गाको स्वामित्व दिलाउने उद्देश्यले नापजाँच, लगत सङ्कलन, दाबी–विरोध तथा लालपुर्जा वितरणका काम अघि बढाइएको हो।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो। उहाँले वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूलाई जग्गाको स्वामित्व प्रदान गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै अन्यत्र घरजग्गा हुँदाहुँदै भूमिहीनका रूपमा दाबी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो। गलत विवरण पेस गरी लाभ लिन खोजे कानुन अनुसार कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।


बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालका अनुसार भूमिहीनलाई स्वामित्व प्रदान गर्न नाप–नक्साङ्कन, लगत सङ्कलन तथा प्रविष्टि, नियन्त्रण बिन्दु स्थापना र ब्लक सिफारिस लगायतका काम भइरहेको छ। वडा नम्बर १ मा ३०१ जनाको लालपुर्जा बनाउने प्रक्रिया अघि बढेको छ भने वडा नम्बर २ मा नापी कार्य सम्पन्न भइसकेको छ। वडा नम्बर ४ मा ३४ जनाको दाबी–विरोध सम्बन्धी सूचना प्रकाशन गरिएको छ भने वडा नम्बर ७ का ३० जनालाई लालपुर्जा वितरण भइसकेको छ। वडा नम्बर ८, ९ र ११ मा पनि नापी कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख अर्यालका अनुसार बाणगंगा नगरपालिकामा ८०५ जना भूमिहीन दलित, २ हजार ९३३ जना भूमिहीन सुकुम्बासी र ६ हजार ७३२ जना अव्यवस्थित बसोबासी रहेका छन्। उनीहरूको लगत सङ्कलनका लागि नगरपालिकाले चार पटक सम्म सूचना प्रकाशन गरिसकेको छ।
जिल्ला समितिका सदस्य सचिव तथा नापी विभागका अधिकृत जनक भण्डारीले आगामी ५०० दिन भित्र लालपुर्जा वितरण गर्ने लक्ष्य सहित काम अघि बढाइएको बताउनुभयो। आवश्यक प्रक्रिया पूरा गरी वास्तविक लाभग्राहीलाई जग्गाको स्वामित्व प्रदान गरिने उहाँको भनाइ छ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले भूमिहीन तथा अव्यवस्थित बसोबासीसम्बन्धी नगरपालिकाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। बाँकी प्रक्रिया पनि शीघ्र पूरा गरी योग्य तथा वास्तविक लाभग्राहीलाई लालपुर्जा उपलब्ध गराउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६