पार्वती पाण्डे कपिलवस्तु २७ भदौ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहसहित देशभरका उपसचिव तहका कर्मचारीको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयको भदौ २६ गतेको निर्णयअनुसार लुम्बिनी प्रदेशका कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहमा पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी परिवर्तन गरिएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी गृह मन्त्रालय वा अन्तर्गत खटिनुभएको छ । उहाँको स्थानमा राष्ट्रपतिको कार्यालयमा कार्यरत उपसचिव ईश्वरी प्रसाद पाण्डेलाई बाणगंगामा कामकाजका लागि खटाइएको छ ।
त्यस्तै, कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटालाई पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कामकाजका लागि खटाइएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी राष्ट्रिय योजना आयोगको सचिवालय, काठमाडौंमा जानुभएको छ । उहाँको स्थानमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेलाई सैनामैनामा खटाइएको छ ।
यस्तै, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गत खटिनुभएको छ । उहाँको स्थानमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेललाई तिलोत्तमामा कामकाजका लागि पठाइएको छ ।
पश्चिम नवलपरासीमै सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई गृह मन्त्रालय वा अन्तर्गत खटाइएको छ । त्यस्तै, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेय राष्ट्रिय योजना आयोगको सचिवालयमा खटिनुभएको छ ।
यससँगै लुम्बिनी प्रदेशका बाणगंगा, सैनामैना, तिलोत्तमा, कृष्णनगर, रामग्राम, बर्दघाट र सुनवललगायत स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारीमा हेरफेर भएको छ ।
मन्त्रालयको निर्णयअनुसार सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीलाई सम्बन्धित स्थानीय तह र निकायमा जिम्मेवारी सम्हाल्न पठाइएको हो ।
२७ भाद्र २०८३, शनिबार










प्रतिक्रिया