कपिलवस्तु ३ असोज । नेकपा एमाले कपिलवस्तुको आयोजनामा संविधान दिवस २०८३ को अवसरमा बाणगंगा नगरपालिका–सिद्धिपुरमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संविधानका उपलब्धि, कार्यान्वयनका चुनौती तथा समृद्ध लोकतन्त्रको आगामी बाटोबारे छलफल गरिएको थियो।कार्यक्रममा बोल्दै एमालेका प्रदेश नेता डम्मर शर्माले पार्टीको माथिल्लो तहमा देखिएको विवादबाट कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँले पार्टीका आन्तरिक विषयलाई विधि, संवाद र संगठनात्मक एकतामार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा एमालेका जिल्ला नेता एवम संचर बिज्ञ भेषराज पाण्डेले ‘संवैधानिक उपलब्धि, संविधान कार्यान्वयनका चुनौती तथा समृद्धिको लोकतान्त्रिक आगामी बाटो’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, संघीयता, समावेशिता तथा लोकतान्त्रिक व्यवस्थाका उपलब्धिसँगै संविधान कार्यान्वयनमा देखिएका चुनौतीबारे चर्चा गर्नुभयो।
कार्यपत्रमाथि धारणा राख्दै बाणगंगा नगरपालिकाका मेयर तथा एमाले प्रदेश नेता चक्रपाणी अर्यालले संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारलाई पर्याप्त अधिकार दिन नचाहेको बताउनुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार, स्रोत र जिम्मेवारीको स्पष्ट बाँडफाँट आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा एमाले प्रदेश नेता द्रोणराज सुवेदी, विमला चौधरी, जिल्ला नेता विष्णु गिरी, मदन शाही, नगर अध्यक्ष सोम नाथ अर्याललगायतले संविधान कार्यान्वयन, पार्टी संगठन र समसामयिक राजनीतिक विषयमा धारणा राख्नुभएको थियो।एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डेको अध्यक्षता तथा जिल्ला उपसचिव देवीबहादुर पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
३ आश्विन २०८३, शनिबार









प्रतिक्रिया