कपिलवस्तु ३ असोज
कपिलवस्तुको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले भने साधारण सभा पछिको पहिलो कामको सुरुवात गरेको छ ।समूहले गत भदौ ३१ गते सम्पन्न गरेको १४औँ वार्षिक साधारणसभामार्फत आर्थिक वर्ष २०८३÷८४ का लागि पारित गरेको कार्ययोजना अन्तर्गत संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि वन क्षेत्रमा झाडी सरसफाइको काम सुरु गरेको हो । चाडपर्व नजिकिँदै गरेको समयमा सुरु गरिएको यो कामले वन संरक्षण तथा संवद्र्धनसँगै उपभोक्तालाई रोजगारीको अवसर समेत दिएको छ । वन संवद्र्धनसँगै उपभोक्ताको आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर झाडी सरसफाइको काम सुरु गरिएको वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी ‘सुसिल’ले बताउनुभयो ।
त्यस्तै, मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारीले पछिल्ला तीन वटा आर्थिक वर्षमा कटान भएका तीन वटा प्लटसँगै अग्निरेखामा समेत झाडी सरसफाइ तथा झाडी–बुट्यान हटाउने काम गरिने जानकारी दिनुभयो ।आफ्नै प्रत्यक्ष निगरानीमा श्रृङ्गिघाट सामुदायिक वनका १४ वटै मौजाका उपभोक्तालाई झाडी सरसफाइको काममा सहभागी गराई रोजगारी प्रदान गरिएको झाडी सफाइ कार्यक्रमका संयोजक विष्णु मल्लले जानकारी दिनुभयो ।
चाडपर्वको मुखमा सामुदायिक वनले वन संवद्र्धनसँगै आफूहरूलाई रोजगारीको अवसरसमेत दिएको भन्दै उपभोक्ताहरू खुशी भएका छन् ।झाडी सरसफाइको कामको स्थलगत अनुगमनसमेत गरिएको छ । मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारी, श्रृङ्गिघाट सामुदायिक वनका उपाध्यक्ष बुद्ध बहादुर शाही, सचिव सुस्मा खाँण, सदस्य हरि पुन, लेखा समिति संयोजक गुरुदेव पौडेल एवम् टोल संयोजकहरूको टोलीले स्थलगत अनुगमन गर्दै झाडी सरसफाइका क्रममा ध्यान दिनुपर्ने विषयमा आवश्यक निर्देशन दिएको थियो ।
३ आश्विन २०८३, शनिबार









प्रतिक्रिया