तौलिहवा ८ असोज
कपिलवस्तुको यशोधरा गाउँपालिकामा किशोरीहरुका लागि एचपिभी खोप अभियान चलाइने भएकोछ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन हुने भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिकास्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा अभियानबारे जानकारी गराइएको हो । आगामी असोज १५ देखि १७ गतेसम्म सञ्चालन हुने अभियानमा गाउँपालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी तथा विद्यालयबाहिर रहेका सोही उमेर समूहका किशोरीलाई खोप लगाइनेछ । स्वास्थ्य शाखाका अनुसार यसअघि एचपिभी खोप लगाउन छुटेका लक्षित उमेर समूहका किशोरीलाई समेत यस अभियानमा खोप लगाइनेछ । स्वास्थ्य शाखा प्रमुख ज्योति प्रकाश दुबेले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा रहेको बताउनुभयो। जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब १ हजार ३ सय १३ जना महिलाको यस रोगका कारण मृत्यु हुने गरेको छ । यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले बालिकालाई भविष्यमा हुन सक्ने क्यान्सरको जोखिमबाट जोगाउन एचपिभी खोप महत्वपूर्ण रहेको बताउँदै आफ्ना छोरीलाई खोप लगाउन अभिभावकलाई आग्रह गर्नुभएको छ । स्वास्थ्य शाखाले अभियान सफल बनाउन विद्यालय, अभिभावक र समुदायको सहयोग आवश्यक रहेको जनाएको छ।
७ आश्विन २०८३, बुधबार









प्रतिक्रिया