पार्वती पाण्डे
कपिलवस्तु १३ असोज
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले मेयरका रुपमा पहिलो र उपमेयर हुदै मेयर भएका हिसावले दोश्रो कार्यकालको अन्तिम वर्षमा काम गर्दै हुनुहुन्छ । उहासंग बुद्ध दर्पण राष्ट्रिय दैनिकको सम्पादकका रुपमा मैले तपाईले करिव १० बर्ष काम गर्दा नगरलाई कहाँवाट कहा सम्म पुरयाउनु भयो? भन्ने पहिलो प्रश्न राखे । मेरो प्रश्नमा मेयर अर्यालले भन्नु भयो विकास निर्माण ,शुसासन र वहुआयमिक क्षेत्रका सबै सूचकले भन्छन् बाणगंगा उत्कृष्ट छ । यहि नै मेरो नेतृत्वमा भएको उपलब्धी हो । उहाले अझ अगाडी भन्नु भयो मैले गर्न भनेको मुख्य काम मध्ये पछिल्लो ५ बर्षमा फाहोर मैला प्रशोधन वाहेकका सबै काम पुरागरे । एकाध काम वाँकी छन् तर छिटटै पुरा हुदैछन् ।उहाले अगाडी भन्नु भयो मैले चुनाव लड्दा ब्यक्त गरेका महत्वपूर्ण प्रतिवद्धता ९५ प्रतिशत भन्दा बढी पुरा भएका छन् ।
बसपार्क मेरै कार्यकालमा संचालनमा आउछ जग्गा प्राप्तीमा संंघिय सरकारवाट सहयोग नपाउदा फोहोर मैला प्रशोधन केन्द्र संचालनमा ल्याउन सकेन अरु सबै काम योजनाबद्धरुपमा भएका छन् । नगर रिङरोड पुरा हुने अन्तिम चरणमा छ ।अहिले विनियोजित बजेटले काम हुदा पुरा हुन्छ । नगर भित्र धुलो र हिलो विहिन कालोपत्रे सडक सबै टोलवस्तीमा पुगेकोछ । मेयर अर्यालका अनुसार चालु वर्ष मर्मत संभारको बर्ष हो कुनैपनि सडक विग्रीएका भए सबै सडकको मर्मत संभार हुन्छ र चिटिक्क पारिन्छ ।
उहाँले गत पछिल्लो आवका केहि प्रगती पनि औल्याउनु भयो । तथ्य तथ्यांकमा समेत स्पष्ट देखिनु भएका मेयर अर्यालले आर्थिक वर्ष २०८२÷८३ मा बाणगंगा नगरपालिकाको संशोधित कुल आय अनुमान १ अर्ब २९ करोड ५३ लाख ९३ हजार ९९२ रहेकोमा वास्तविक आय १ अर्ब २३ करोड ८४ लाख ७४ हजार २२२ रुपैयाँ ३४ हुन गएको तथ्य प्रस्तुत गर्दै संशोधित बजेटमध्ये वास्तविक खर्च १ अर्ब ५ करोड ६ लाख ९७ हजार ३२१ रुपैयाँ ३७ पैसा अर्थात् ८१ दशमलव ११ प्रतिशत प्रगती भएको औल्याउनु भयो । क्षेत्रगत रूपमा सामाजिक विकासमा ८८ दशमलव ३९ प्रतिशत, आर्थिक विकासमा ७४ दशमलव ३१ प्रतिशत र पूर्वाधार विकासमा ७४ दशमलव १६ प्रतिशत खर्च प्रगति देखिएकोछ ।
“आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाले हासिल गरेका मुख्य उपलब्धिलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ? चालु आर्थिक वर्षका प्राथमिकता के हुनेछन् ?” भन्ने प्रश्नमा मेयर चक्रपाणी अर्यालले भन्नु भयो —नगरपालिकाको समग्र विकासलाई हेर्दा पूर्वाधार निर्माण एउटा महत्वपूर्ण पक्ष बनेको देखिन्छ । सडक, नाला, कुलो, खानेपानी, स्वास्थ्य संस्था, सार्वजनिक भवन, खेलमैदानलगायतका योजनामा लगानी भएको छ ।
गत आर्थिक बर्षमा वडा तथा नगरस्तरीय गरी कुल ५६१ योजना रहेकोमा ५३७ योजना सम्झौता भई तीमध्ये ४९६ योजना कार्यान्वयन भएका छन् उहाले भन्नु भयो । पूर्वाधारतर्फ विनियोजित बजेटमध्ये सडक, खानेपानी तथा सरसफाइ, सिँचाइ, स्वास्थ्य संस्था र अन्य सार्वजनिक पूर्वाधारका योजनाहरू सञ्चालन भएको वताउदै संघीय, प्रदेश तथा स्थानीय तहबाट प्राप्त स्रोतलाई समेत समेटेर नगरले विकास निर्माणलाई अत्यन्तै द्रुतगतिमा अघि बढाएको मेयर अर्यालले स्पष्ट पार्नु भयो ।
यसैगरी “नगरपालिकाले विकास निर्माणसँगै सामाजिक विकासका क्षेत्रमा के–कस्ता कामलाई प्राथमिकता दिएको छ ?” भन्ने प्रश्नमा मेयर अर्यालले भन्नु भयो —हाम्रो मुख्य उपलब्धी केवल भौतिक पूर्वाधारमा सीमित छैन । सामाजिक विकासलाई पनि नगरपालिकाले महत्वपूर्ण प्राथमिकताका रूपमा अघि सारेको छ । बजेटको क्षेत्रगत विवरणमा सामाजिक विकासतर्फ ६१ करोड ६६ लाख ५९ हजार ६६२ रुपैयाँ विनियोजन भएकोमा ५४ करोड ५० लाख ९४ हजार ३७२ रुपैयाँभन्दा बढी खर्च भएको वताउदै सामाजिक विकासतर्फको खर्च प्रगति ८८ दशमलव ३९ प्रतिशत रहेको उहाले जानकारी दिनु भयो ।
“वार्षिक बजेट तथा योजना कार्यान्वयनका क्रममा प्रशासनिक पक्षबाट देखिएका उपलब्धि र चुनौती के–कस्ता छन् ?” भन्ने प्रश्नमा मेयर अर्यालले भन्नु भयो — स्थानीय सरकारको सफलता योजना बनाउनेभन्दा पनि त्यसलाई समयमै कार्यान्वयन गर्न सक्ने क्षमतासँग जोडिन्छ । बाणगंगा नगरपालिकाको प्रगती प्रतिवेदनले पनि बजेट कार्यान्वयन, समयमै खरिद प्रक्रिया अघि बढाउने, सम्झौताअनुसार काम सम्पन्न गर्ने, वित्तीय अनुशासन कायम गर्ने तथा बेरुजु न्यूनीकरणलाई आगामी कार्यदिशाका रूपमा अघि सारेको छ ।
आर्थिक कारोबारको विद्युतीय प्रणालीमार्फत भुक्तानी प्रणालीबाट राजस्व संकलन तथा आन्तरिक लेखापरीक्षणलाई निरन्तरता दिइएको वताउदै विगतका बेरुजु सम्परीक्षणमा प्रगति भएको र वित्तीय सुशासनलाई थप बलियो बनाउने आवश्यकता औंल्याइएको छ भन्नु भयो । उहाले नगरका केहि चुनौती पनि उल्लेख गर्नु भयो । बजेट अनुमानलाई अझ यथार्थपरक बनाउने, संघ र प्रदेशबाट प्राप्त हुने अनुदान समयमै प्राप्त गर्ने, सशर्त अनुदानको कार्यान्वयनमा हुने ढिलाइ घटाउने, आर्थिक वर्षको अन्त्यमा हुने अत्यधिक खर्चलाई नियन्त्रण गर्ने र दोहोरिने बेरुजु न्यूनीकरण गर्ने विषयलाई विशेया महत्का साथ कार्यान्वयन गर्नु पर्ने स्पष्ट पार्नु भयो ।
मेयर अर्यालका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा वडा तथा नगरस्तरीय योजनाहरूको कार्यान्वयनमा उल्लेख्य प्रगती देखिएको छ । कुल ५६१ योजनामध्ये ५३७ योजनाको सम्झौता भएको र ४९६ योजना कार्यान्वयन भएकोमा उपभोक्ता समितिमार्फत ३९० योजना सम्झौता भएको चित्रण गर्नु भयो । त्यस मध्ये ३६९ योजना सम्पन्न भएको वताउदै ठेक्कामार्फत सम्झौता भएका १४७ योजनामध्ये १२७ योजना सम्पन्न भएको मेयर अर्यालको भनाइछ ।
“शैक्षिक क्षेत्रमा आर्थिक वर्ष २०८२÷८३ का मुख्य कार्यक्रम र उपलब्धि के रहे ?” भन्ने प्रश्नमा उहाले स्थानीय सरकारको दीर्घकालीन विकासको आधार शिक्षा हो । बाणगंगा नगरपालिकाले विद्यालय पूर्वाधार, शैक्षिक संस्था व्यवस्थापन, खेलकुद तथा विभिन्न शैक्षिक गतिविधिमा कार्यक्रम सञ्चालन गरेको छ भन्नु भयो । विद्यालयको भौतिक निर्माण तथा मर्मत सुधारका योजनादेखि शिक्षक व्यवस्थापन र अतिरिक्त शैक्षिक क्रियाकलापसम्मका विषय वार्षिक समीक्षामा समेटिएका छन् ।विद्यालयमा खेलकुद प्रतियोगिता सञ्चालन, शैक्षिक संस्था तथा शिक्षक व्यवस्थापनसम्बन्धी कार्यक्रम र अन्य शैक्षिक गतिविधि सञ्चालन भएका छन् उहाले प्रष्टाउनु भयो ।
त्यसैगरी मेयर अर्यालले “स्वास्थ्य क्षेत्रमा नगरपालिकाले नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी के–कस्ता कार्यक्रम सञ्चालन ग¥यो ?” भन्ने प्रश्नमा —स्वास्थ्यतर्फ आधारभूत सेवा विस्तार, स्वास्थ्य संस्था पूर्वाधार सुधार, पोषण तथा सरसफाइसम्बन्धी गतिविधिलाई प्राथमिकता दिइएको छ । स्वास्थ्य संस्थाका भवन निर्माण, मर्मत तथा स्तरोन्नतिका योजनाहरू पनि विभिन्न तहका बजेटबाट सञ्चालन भएका छन् ।यससँगै पोषणमैत्री वडा निर्माण, विद्यालयमा पोषण कार्यक्रम, खानेपानी तथा सरसफाइ र जनस्वास्थ्य सचेतनामूलक गतिविधिले स्वास्थ्यलाई उपचारमा मात्र सीमित नराखी रोकथाम र स्वस्थ जीवनशैलीसँग जोड्ने प्रयास गरिएको छ भन्नु भयो ।
पशु नश्ल सुधार कार्यक्रमअन्तर्गत गाई तथा भैंसीमा कृत्रिम गर्भाधान सेवा प्रवाह गरिएको वताउदै १ हजार ७३३ गाई र ९३४ भैंसी गरी जम्मा २ हजार ६६७ पशुमा कृत्रिम गर्भाधान सेवा प्रवाह गरिएको जानकारी दिनु भयो । साथै १९ हजार १५४ पशुपन्छीमा उपचार सेवा प्रदान गरिएको पनि उहाले स्पष्ट पार्नु भयो । मेयर अर्यालले भन्नु भयो — बाणगंगा पूर्ण सरसफाइयुक्त नगरपालिका निर्माणको लक्ष्यअन्तर्गत सार्वजनिक शौचालय निर्माण, सरसफाइ सचेतना तथा खानेपानी र सरसफाइ सेवासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएकोछ तर बढ्दो शहरीकरणसँगै आधुनिक प्रकारको फोहोरमैला व्यवस्थापन, गर्न प्रयासरत रहेको औल्याउनु भयो । सार्वजनिक सम्पत्तिको संरक्षण, नदी तथा जलस्रोत संरक्षण र विपद् व्यवस्थापनका चुनौती पनि थपिँदै गएको उहाले स्वीकार्नु भयो ।
१३ आश्विन २०८३, मंगलबार









प्रतिक्रिया