गण्डकी

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ



चितवन, १४ असोजः

नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न सङ्घीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो । ठूला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा नारायणीको चिसो हावासँगै रमाउने र हिँडाइ गर्ने यो स्थललाई सुन्दर बनाउन महानगरले चाहेको थियो । जाडो महिनामा दिउँसोमा समेत यहाँ बसेर रमाउने र तस्विर खिच्नेहरू आउने गर्दछन् । नजिकै नारायणी नदी बगिरहेको छ भने वरिपरिको सुन्दरता मनमोहक छ । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी नदी तटीय क्षेत्रलाई ‘सिबिच’ ढाँचामा विकास गर्न चाहेको भए पनि नदीमा हरेक वर्ष आउने बाढीका कारण सम्भव नभएको बताउनुहुन्छ । गत वर्ष अधिकांश संरचना बगाएको थियो भने बाँकी रहेका संरचना सबै बगाएको छ । उहाँले भन्नुभयो, “हामीले सङ्घ र प्रदेशसँग समेत सहकार्य गरेर यसलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका थियौँ ।” तत्कालीन नगरप्रमुख रेनु दाहालसहित महानगरपालिका टोलीको आग्रहमा सङ्घीय सरकारले फुटट्रेल, आरसिसी संरचनासहितको पैदलमार्गलगायतका काम गरेको थियो । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पैदलमार्ग (फुटट्रेल) र नारायणी नदी व्यवस्थापन आयोजनाले सिबिच मोडलमा आरसिसी संरचना निर्माण गरेको थियो । भरतपुर महानगरपालिका र उद्योग वाणिज्य सङ्घले पैदलमार्ग बनाएका थिए । बाढी आउनुअघि सो क्षेत्रमा मोजाइक टायल, दुबो बिछ्याइएको, हरियाली एवं वरिपरि भएका बिरुवाका कारण सुन्दर र मनमोहक बनेको थियो । साँझपख मानिसहरू नारायणी किनारमा घुम्न निस्कने गर्दा छुट्टै चहलपहल हुने गथ्र्याे । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पर्यटन मन्त्रालयले ‘फुटट्रेल’को काम गरेको थियो । पर्यटन मन्त्रालयले दुई दशमलप चार किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि रु छ करोड ५० लाखको बोलपत्र आह्वान गरी काम गरेको थियो । यस्तै भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर रु ९७ लाख खर्च गरी पैदलमार्ग बनाएको थियो । जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्यत्र बनाएका ती सबै संरचना बाढीले बगाएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले ११ खुट्किलासहितको ६५० मिटर लामो आरसिसी संरचना बनाएको थियो । हाल नदी क्षेत्रमा सो संरचनामात्र बाँकी छ । ती संरचना २०७९ सालमा रु १५ करोड ९२ लाख खर्च गरी बनाइएको हो । नदीकिनारलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपर्नुभएका सङ्घका पूर्वअध्यक्ष श्रेष्ठ चाहेर पनि नदीकिनारलाई सुन्दर बनाउन नसकिएको बताउनुहुन्छ । नदीको बीचमा रहेका संरचना हटाएर नदीलाई सहज बग्न दिनुपर्ने उहाँको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी हरेक दुई वर्षमा सङ्घले महोत्सव गर्नका लागि रु ४० लाख हाराहारी खर्च गरेर नदीकिनार व्यवस्थापन गर्नुपर्ने बाध्यता आएको बताउनुहुन्छ । सो क्षेत्रको भाडा भरतपुर महानगरपालिकाले लिने भए पनि काम आफूहरूले समेत गर्नुपरेको उहाँको भनाइ छ । हरेक वर्षको बाढीले त्यहाँ बनाएका संरचना बगाउने गरेको उहाँको गुनासो छ । यसलाई दिगो रूपमा संरक्षण गर्न सक्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ । रास्वपाका नेतासमेत रहनुभएका सङ्घका पूर्वअध्यक्ष राजन गौतम सो क्षेत्रमा गरिएको लगानी बालुवामा पानी भएको भन्दै कार्यक्रम अन्यत्र गर्ने र नदीलाई आफ्नो धारमा बग्न दिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो । हाटबजारझैँ गरिने मेला महोत्सवको चिन्ता लिने होइन ।” पहिलोपटक नारायणी नदीको बहाव उर्लिएर बजार क्षेत्रमा उक्लिएको छ । यसले नारायणगढ बजारसमेत जोखिममा परेको स्थानीयको बुझाइ छ । लामो समयदेखि नारायणगढमा बसोबास गर्दै आउनुभएका प्रभातकुमार जोशी नदीको कटान यसरी नै बढ्दै गएमा नारायणगढ बजार नै जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । विसं २०१९ देखि नारायणगढ बस्दै आउनुभएको जोशीका अनुसार नारायणी किनारको संरक्षणमा सरकारले तत्काल विशेष ध्यान दिनुपर्छ । नदीको उचित संरक्षण नगरेर प्रकृतिलाई जिस्क्याउँदै किनारमै बस्ती विस्तार गरिए नारायणगढ बजारको भविष्य नै खतरामा पर्ने उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्य भोटेकोशी बाढीपछि नदीको सतह बढेर पानीको बहाव बजार क्षेत्रमा पसेको हुनसक्ने बताउनुहुन्छ । नदी तटीय क्षेत्रलाई सुन्दर बनाउन फरक ढङ्गले नक्साङ्कन गरेर काम गर्नुपर्ने देखिएको उहाँको भनाइ छ । महानगरले नदी तटीय यस क्षेत्रलाई विश्वका सामुद्रिक किनारमाझैँ पर्यटकीय गन्तव्य बनाउन चाहेको भए पनि सम्भव नभएको उहाँले बताउनुभयो । नारायणी नदीमा ६० वर्षयताको ठूलो बाढी मापन गएको आइतबार भएको छ । देवघाटमा रहेको जलमापन केन्द्रमा बिहान ११ः४० बजे गरिएको मापनमा ११ दशमलव ९३ मिटर पुगेको थियो । नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि २०८१ साल असोज १२ गते सो ठाउँमा ११ दशमलव ६ मिटर मापन भएको थियो । उहाँका अनुसार सन् १९६३ बाट देवघाटमा जलमापन गर्न थालिएको हो । अहिलेसम्मको तथ्याङ्कमा आइतबारको बाढी ६० वर्षयताको ठूलो हो । यही बाढीका कारण नदी तटीय क्षेत्रमा भएका संरचना बगेका हुन् । –––

प्रकाशित : १४ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६