झापा, १७ असोजः
जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापना तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’ तयार गर्न सुरुआत गरेको छ । अनलाइन फारममार्फत सहिद परिवार र घाइतेको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षासहितका चार क्षेत्रगत सूचना संकलन गरी ‘प्रोफाइल’ निर्माण गरिने प्रशासनले जनाएको छ । जिल्लामा हालसम्म दुई सहिद परिवार र सम्पर्कमा आएका ४० जना घाइते रहेका छन् । तीमध्ये ३७ जनाले घाइते परिचयपत्र प्राप्त गरिसकेका छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट घाइतेको अवस्था अनुसार २८ जनाको वर्गीकरण भइसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०८३ असार १८ गने स्वीकृत एकीकृत प्याकेजमा समावेश २४ बुँदाको प्रभावकारी कार्यान्वयनका लागि यो कदम चालिएको उहाँले बताउनुभयो । सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क शिक्षा, रोजगारीलगायतका एकीकृत राहत प्याकेजलाई घाइते तथा सहिद परिवारको वास्तविक माग र आवश्यकतासँग जोड्न आवश्यक सूचना स्रोतको रूपमा रहने गरी यो ‘प्रोफाइल’ तयार पारिने उहाँको दाबी छ । सो कार्यका लागि सम्बन्धित सहिद परिवार र घाइतेलाई आफ्ना विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ । ‘प्रोफाइल’ तयार गर्ने यस महत्त्वपूर्ण कार्यमा आवश्यक समन्वय र सहजीकरणका लागि हालसम्म सम्पर्कमा नआएका जेन–जी आन्दोलनका घाइतेलाई यथाशीघ्र जिप्रकामा सम्पर्क राख्न अनुरोध गरिएको उहाँले बताउनुभयो । –––









प्रतिक्रिया