ब्रेकिंग न्युज

झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित



दमौली (तनहुँ), २० असोज

गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । अविरल वर्षा र बाढीका कारण पुलमा क्षति भएपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न समस्या भएको हो । पुल अवरुद्ध हुँदा सबैभन्दा ठूलो असर विद्यार्थीमा परेको छ । करूवाटार र बटौलिटार क्षेत्रबाट नदी पारी रहेको बौदीकाली–१ मचेडीस्थित धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब १५ देखि २० जना विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । दैनिक विद्यालय आवतजावतका लागि यही पुल प्रयोग गर्दै आएका विद्यार्थी अहिले बाटो बन्द भएपछि घरमै बस्न बाध्य भएका छन् । नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष भीमबहादुर कुमालले बताउनुभयो । पुल नहुँदा विद्यार्थी मात्र नभई स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने पैदलयात्रीसमेत प्रभावित भएको उहाँले बताउनुभयो । “पुलमा क्षति पुगेपछि विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको छ । नदीको बहाव उच्च भएकाले वैकल्पिक रूपमा नदी तरेर जान सक्ने अवस्था छैन,” वडाध्यक्ष कुमालले भन्नुभयो । पुल अवरुद्ध हुँदा बालबालिकाको पढाइ प्रभावित हुनुका साथै स्थानीयको दैनिक जीवनसमेत कष्टकर बनेको भन्दै स्थानीयले यथाशीघ्र पुल मर्मत गर्न वा तत्काल वैकल्पिक आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रकाशित : २० आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६