कपिलवस्तु, १८ असोज
बाणगंगा नगरपालिका–११ देवापारस्थित फूलबारी टोलको सडक स्तरोन्नति सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै स्थानियबासी उत्साहित भएका छन् । देवापार दुर्गा मन्दिरदेखि पूर्वतर्फ फूलबारी टोलभित्रको सडक स्तरोन्नति गरिएको हो।
सडक स्तरोन्नति योजनाको लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री विष्णुप्रसाद पन्थीले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा पन्थीले स्थानीय आवश्यकताका आधारमा पूर्वाधार विकासका कामलाई निरन्तरता दिएको बताउँदै जनताका समस्या समाधानमा प्रदेश सरकारको भूमिका रहने धारणा राख्नुभयो।

लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालय तथा सडक पूर्वाधार विकास कार्यालय, तौलिहवा मार्फत योजना कार्यान्वयन गरिएको हो। टोल विकास संस्थाका अध्यक्ष छत्रबहादुर क्षेत्रीका अनुसार सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आवत जावतमा सहजता भएको छ।
क्षेत्रीले विगतमा वर्षायाममा सडक हिलाम्मे हुँदा दैनिक आवत जावतमा समस्या हुने गरेको स्मरण गर्दै सडकमा पिसीसी ढलान भएपछि बस्तीको अवस्था नै परिवर्तन भएको बताउनुभयो। सडक निर्माणले स्थानीय बासिन्दा, कृषक तथा अन्य सेवाग्राहीलाई आवत जावतमा प्रत्यक्ष राहत पुगेको उहाँको भनाइ छ।

आयोजना कार्यान्वयनका लागि महाशक्ति बिल्डर्सले ठेक्का पाएको थियो। आयोजना मूल्य अभिवृद्धि कर (मु.अ.क.) सहित ठेक्का सम्झौता रकम रु. १५ लाख ४७ हजार ७ सय २५ रुपैयाँ ७२ पैसा रहेको थियो ।
स्थानीय सडक आवत जावतको माध्यम मात्र नभई कृषि उत्पादनको ढुवानी, बजार पहुँच र स्थानीय आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको पूर्वाधार हो। फूलबारी क्षेत्रका बासिन्दाले सडक स्तरोन्नति पछि कृषि उपज बजारसम्म पु¥याउन, दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा आवश्यक सेवा लिन सहज हुने अपेक्षा गरेका छन्।
तर सार्वजनिक लगानीबाट निर्माण भएका सडकको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न निर्माणको गुणस्तर र मापदण्डको पालना उत्तिकै महत्वपूर्ण हुन्छ। स्थानीयले सडक निर्माणपछि नियमित अनुगमन, आवश्यक मर्मत सम्भार तथा प्राविधिक मापदण्डको पालना गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन्।
स्थानीय पूर्वाधार निर्माणको उद्देश्य सडक बनाउनुमा मात्र सीमित नराखी त्यसलाई दिगो र उपयोगी बनाउनु आवश्यक छ। गुणस्तरीय निर्माण, नियमित संरक्षण र समयमै मर्मतसम्भार हुन सके देवापार–फूलबारी सडकले स्थानीय आवागमनसँगै कृषि, व्यापार र आर्थिक गतिविधिलाई समेत दीर्घकालीन रूपमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया