कपिलवस्तु, २२ असोज ।
बाणगंगा नगरपालिका–२, गबदैया स्थित मुना सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै रोजगारी सिर्जना, उपभोक्ताको आयआर्जन वृद्धि र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रम अघि बढाउने भएको छ।
समूहको १६औँ वार्षिक साधारण सभा तथा ७औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि १ करोड २१ लाख १० हजार १ सय ५ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। साधारण सभाले वन संरक्षण तथा विकास, रोजगारी सिर्जना, उपभोक्ताको आयआर्जन वृद्धि तथा आर्थिक र सामाजिक हितका कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो।
वनबाट प्राप्त स्रोत–साधनलाई वन व्यवस्थापनमा मात्र सीमित नराखी स्थानीय विकास र सामाजिक क्षेत्रमा समेत प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा सभामा जोड दिइएको थियो। यसका लागि दिगो वन व्यवस्थापन, वन संरक्षणलाई प्रभावकारी बनाउने तथा उपभोक्ताको आर्थिक अवस्था सुधारमा योगदान पुग्ने कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ।
यसैबीच, समूहको ७ औँ अधिवेशनले शोभ बहादुर विककै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा दीपा घिमिरे, सहसचिवमा भोजराज भट्टराई र कोषाध्यक्षमा नारायण क्षेत्री चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा धनिकला रेश्मी, लक्ष्मी भट्टराई, भेषकुमार थापा, दिनेश घिमिरे, सीताराम थारु र पवित्रा भट्टराई चयन हुनुभएको छ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै रोजगारी सिर्जना र स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो।

उहाँले स्थानीय सरकार र सामुदायिक वनबीचको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सब–डिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेशप्रसाद जयसवालले सामुदायिक वन संरक्षणको अभियानसँगै विकास निर्माण, रोजगारी सिर्जना र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले वनको दिगो व्यवस्थापन र संरक्षणमार्फत स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज रोमी, नवजागृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदम अधिकारी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झलक मल्ल ठकुरी, वडा नं. २ का वडा सचिव नरेन्द्र पोख्रेल लगायतको सहभागिता रहेको थियो।

साधारण सभाले वन संरक्षणलाई थप प्रभावकारी बनाउने, वैज्ञानिक तथा दिगो वन व्यवस्थापन गर्ने, उपभोक्ताको आयआर्जन बढाउने र वनबाट प्राप्त स्रोतलाई स्थानीय विकास तथा सामाजिक क्षेत्रमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। वनलाई संरक्षणको क्षेत्रसँगै स्थानीय रोजगारी, आयआर्जन र सामाजिक विकासको आधारका रूपमा अघि बढाउने समूहको योजनाले सामुदायिक वनको स्रोतलाई समुदायको समृद्धिसँग जोड्ने उद्देश्य देखाएको छ। साधारण सभा बुधबार सम्पन्न भएको हो ।









प्रतिक्रिया