क्यानबेरा, ४ कात्तिक (रासस/सिन्ह्वा):
अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समयसीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् । अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) ले बुधबार दिएको जानकारीअनुसार, प्रत्येक कम्पनीले एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना बुझाएका हुन् । यी कम्पनीले सन् २०२५ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको वित्तीय प्रतिवेदन तोकिएको समयसीमा अर्थात् अक्टोबर ३१ भित्र बुझाउनुपर्ने थियो । तर, प्रतिवेदन बुझाउन ढिलाइ गरेपछि उनीहरूलाई जरिवाना गरिएको आयोगले जनाएको छ । जरिवाना तिर्ने कम्पनीहरूमा भिसी इन्डस्ट्रिज अस्ट्रेलिया, भिसी प्याकेजिङ र प्राट कन्सोलिडेटेड होल्डिङ्सलगायत रहेका छन् । आयोगकी आयुक्त केट ओरुर्कले यस कारबाहीले वित्तीय प्रतिवेदनसम्बन्धी नियम पालना गराउन नियामक निकाय प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताउनुभयो । वित्तीय प्रतिवेदन समयमै बुझाउनु कम्पनीहरूको नियामकीय दायित्व हो । यस कारबाहीमार्फत आयोगले निर्धारित समयसीमाको पालना सुनिश्चित गर्न र कम्पनीहरूलाई जवाफदेही बनाउन खोजेको जनाएको छ।









प्रतिक्रिया