अन्तर्राष्ट्रिय

जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन



एथेन्स, ४ कात्तिक (रासस/एपी):


जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन् । युरोपभर बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला ग्रीसका अन्य सहरमा पनि विद्यार्थी र शिक्षकले जुलुस निकालेका छन् । उत्तरी सहर थेसालोनिकी र पश्चिमी बन्दरगाह सहर पात्रासमा समेत प्रदर्शन भएको छ । इन्धनको मूल्यवृद्धि, महँगो आवास, विद्यालयहरूको कमजोर अवस्था र शिक्षामा पर्याप्त सरकारी लगानी नहुँदा विद्यार्थी तथा शिक्षकहरू आन्दोलित भएका हुन् । फ्रान्स, इटाली र अल्बानियालगायतका देशमा पनि यस्तै प्रदर्शन भएका छन्, जहाँ केही स्थानमा हिंसा भड्किएको छ । एथेन्समा प्रदर्शनकारीहरूले ‘ग्रीसदेखि फ्रान्ससम्म, शिक्षामा लगानी बढाऊ’ भन्ने नारासहितका ब्यानर बोकेका थिए । केहीले ‘पढ्ने कि बाँच्ने?’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । बीस वर्षीय इन्जिनियरिङ विद्यार्थी पानागियोटिस मोस्कोनासले जीवनयापनको बढ्दो लागतबाट प्रभावित विद्यार्थीलाई सरकारले पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गर्नुभयो । सरकारले घोषणा गरेको मासिक १२० युरोको भाडा अनुदान आधा भाडा तिर्नसमेत पर्याप्त नहुने र उक्त रकम वर्षको अन्त्यमा मात्र उपलब्ध हुने उहाँले बताउनुभयो । प्रदर्शनका क्रममा दङ्गा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो । प्रहरीले प्रदर्शनस्थलतर्फ जाने व्यक्तिहरूको जाँच तथा झोला खानतलासी गरेको थियो । ग्रीसमा विगतका प्रदर्शन हिंसात्मक बन्ने गरेका कारण जुलुस मार्गमा पर्ने पसल तथा क्याफेहरूले आफ्ना झ्यालको सुरक्षाका लागि स्टिलका सटर बन्द गरेका थिए । यसैबीच, शिक्षकहरूले बुधबार हडताल गरेका छन् । हडतालका कारण केही विद्यालय प्रभावित भए पनि केही विद्यालय भने सञ्चालनमा रहेका थिए । शिक्षक इओनिस रोम्पसले परिवारको दैनिक खर्च धान्न कठिन हुँदै गएको र विद्यालयको अवस्था वर्षैपिच्छे बिग्रँदै गएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उच्च मूल्यवृद्धि र आर्थिक दबाबका कारण शिक्षकहरू हडतालमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो । प्रदर्शनकारीहरूले विद्यार्थीका लागि किफायती आवासको व्यवस्था, शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि तथा बढ्दो महँगीबाट राहत दिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित : ५ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६