देश

एनपिएलः रदर फोर्ड सुदूर पश्चिम, हुनेन साह जनकपुरमा आबद्ध



काठमाडौँ, ७ कात्तिक

वेष्ट इण्डिजका क्रिकेटर शेरफन रदरफोर्डले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ क्षमता थप मजबुत हुने प्रतिक्रिया दिनुभएको छ । “रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, खड्काले भन्नुभयो । अठ्ठाइस वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेट प्रारूपमा आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले वेष्ट इण्डिजबाट ३१ एकदिवसीय र ६१ टी–२० अन्तरराष्ट्रिय खेल खेल्दै क्रमशः ८७३ र एक हजार १२३ रन बनाएका छन् । यस्तै, आज नै जनकपुर बोल्ट्सले पाकिस्तानका तीव्र गतिका बलर हुनेन साहलाई अनुबन्ध गरेको छ । चौबिस वर्षीय साह पाकिस्तानको घरेलु क्रिकेटसँगै पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा समेत खेलिसकेका बलर हुन् । उनले सन् २०२६ को पिएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा १७ विकेट लिएका थिए । त्यसपछि साहले यही वर्षको सिपिएलमा जमैका किङ्समेनबाट खेल्दै १३ खेलमा १६ विकेट लिए । उनी प्रतियोगितामा संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए । विदेशी लिगको रूपमा एनपिएल उनका लागि दोस्रो प्रतियोगिता हुनेछ । एनपिएलको तेस्रो संस्करण आगामी सोमबारदेखि काठमाडौँमा आयोजना हुँदैछ । —

प्रकाशित : ८ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६