कर्णाली

यारी भन्सारको राजस्व लक्ष्य भन्दा तीन गुणा बढी



हुम्ला, १६ कात्तिक

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख रामराज जैसीका अनुसार त्यस आवमा रु छ लाख द्ई हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी अर्थात रु १९ लाख छ हजार सङ्कलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा रु छ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएमा हालसम्म रु दुई लाख राजस्व सङ्कलन भएको छ । त्यस नाकाबाट आयात सिमेन्ट, छड तथा अन्य विलासिताका सामग्री आयात हुँदा अन्तःशुल्कसमेत उठ्ने गरेको पाइएकोे छ । भन्सारसम्बन्धी अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक इन्टरनेट सेवा प्रभावकारी नहुँदा दैनिक कामकाजमै रेकर्ड राख्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । उक्त भन्सार कार्यालयमा भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण कर्मचारीको समेत अभाव रहेको बताइएको छ । त्यस क्षेत्रमा पुग्ने सडक पहुँचको असहज अवस्था र बारम्बार हुने हिमपातले कर्मचारीलाई स्थायी रुपमा टिकाउन समस्या परेको जानकारी दिइएको छ । त्यहाँ खटिएका कतिपय जनशक्तिलाई भन्सार प्रक्रिया र करसम्बन्धी जानकारी कमीले पनि राजस्व सङ्कलन र भन्सार सेवा व्यवस्थापनमा चुनौती रहेको प्रमुख जैसीले बताउनुभयो । हिल्सा नाकामा आवश्यक क्वारेन्टाइनको व्यवस्था नहुँदा विशेषगरी कृषि तथा पशुजन्य वस्तुको निर्यातमा समस्या हुने गरेको छ । त्यस क्षेत्रमा आवश्यक पूर्वाधार र प्राविधिक व्यवस्थापन नहुँदा नाकाबाट सम्भावित व्यापारिक गतिविधिलाई थप विस्तार गर्न कठिनाइ भइरहेको कार्यालयले जनाएको छ । पश्चिम नेपालबाट चीनसँगको व्यापारिक सम्बन्ध र सीमावर्ती व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिने हिल्सा नाकामा भन्सार पूर्वाधार, दक्ष जनशक्ति, भरपर्दो सञ्चार तथा इन्टरनेट सेवा र क्वारेन्टाइन व्यवस्थापन गर्न सके व्यापारिक गतिविधि विस्तारसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । —

प्रकाशित : १७ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६