देश

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’



भक्तपुर, २२ कात्तिकः

यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ । यसै क्रममा आज भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा कुकुर तिहारका अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गरेको छ । प्रदर्शनीमा कुकुरहरुले दौड प्रतियोगिता, बेपत्ताको खोजी, शङ्कास्पद वस्तुको निगरानी एवं पहिचान, अपराधीको गन्धबाट खोजी, हाई जम्पलगायत विभिन्न कला प्रदर्शन गरिएको थियो । गुल्ममा रहेको सबै कुकुरको आज एकैसाथ पूजा गरिएको छ । कार्यक्रममा नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुर कतव्यनिष्ठ इमान्दार पशुका रुपमा लिइने र भैरबका वाहनका रुपमा यसलाई पुजिने बताउनुभयो । उहाँले मानिसभन्दा एक लाख गुणा बढी कुकुरमा सँुघ्न सक्ने क्षमता रहेकाले कतिपय अपराधका घटनामा सँुघेर पत्ता लगाउन यहाँका तालिमप्राप्त कुकुरको प्रयोग गरिने बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, वडाका वडाध्यक्षहरु, नेपाली सेनाका विभिन्न गुल्ममा गुल्मपतिहरुलगायतले कुकुरको कला प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । गुल्मपति सेनानी निज महराले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुन सक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरूको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरूको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो । यस गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा पनि कुकुर प्रयोग गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ । हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रूपमा पनि लिने गरिन्छ भने कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने इमान्दार जनावरका रूपमा लिइन्छ । कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ । भैरवको वाहनका रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । –––

प्रकाशित : २३ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६