देश

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल



काठमाडौँ, २४ कात्तिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताउनुभएको छ । तिहार, नेपाल संवत्, छठ एवम् विविध सांस्कृतिक पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्व मनाउने क्रममा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा वातावरणमैत्री, मर्यादित र मितव्ययी अभ्यासलाई प्रोत्साहन गर्न आमनागरिकमा अपिल गर्नुभएको छ । नेपालका धर्म, संस्कृति, परम्परा र चाडपर्व अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताउनुभएको छ । प्रकृति, जीवजन्तु र मानवबीचको आत्मीय सम्बन्धलाई उजागर गर्ने तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पर्व भएको जनाउँदै उहाँले काग, कुकुर, गाई र गोरूलाई पुज्नेदेखि भाइटीकाका माध्यमबाट विभिन्न प्राणीप्रति सम्मान, कृतज्ञता, प्रेम र पारिवारिक सम्बन्धको महत्त्वलाई यस पर्वले आत्मसात् गरेको बताउनुभएको छ । दीपावलीले अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने भन्दै उहाँले देउसीभैलो, दीप प्रज्वलन र आपसी सद्भावले हाम्रो सामाजिक तथा सांस्कृतिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्नुभएको छ । अध्यक्ष दाहालले तिहार, नेपाल संवत् र छठ पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

प्रकाशित : २५ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६