अन्तर्राष्ट्रिय

कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल



काठमाडौँ, २४ कात्तिक

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा आज नेपाल पभिलियनमा सञ्चालन भएको उक्त विशेष अन्तरक्रिया कार्यक्रममा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनले पारेको असर, क्षति न्यूनीकरण र स्वच्छ ऊर्जामा लगानी अभिवृद्धिका विषयमा गहन छलफल भएको थियो । प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा भएको उक्त सत्रमा एसियाली प्रविधि संस्थान (एआईटी) थाइल्यान्डका प्राध्यापक प्राडा शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण मिडल इस्ट टेक्निकल युनिभर्सिटी टर्कीएका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा मुकेश घिमिरेले गर्नुभएको थियो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इ शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी हुनुहुन्थ्यो । छलफलको पहिलो चरणमा ऊर्जा पूर्वाधारमा हालैको क्षति र जलवायु उत्थानशीलताको आवश्यकता विषयमा चर्चा भएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा हालै भएका क्षतिहरूबारे जानकारी गराउनुभएको थियो । इप्पानकी सदस्य गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रका चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले जलवायु क्षति र उत्थानशील पूर्वाधारसम्बन्धी क्षेत्रीय अनुभव तथा विश्वव्यापी नवीन प्रवृत्तिका बारेमा जानकारी गराउनुभएको थियो । छलफलको दोस्रो चरणमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधारका लागि योजना र लगानी विषयमा चर्चा गरिएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले जलवायु जोखिम सामना गर्न सरकारी योजना, रणनीति, ऊर्जा समिश्रण र ब्याट्री इनर्जी स्टोरेज सिस्टमको आवश्यकताबारे जानकारी गराउनुभएको थियो । इप्पानकी सदस्य गैरेले पूर्वाधारसँग जोडिएका निजी क्षेत्रका चुनौती र जोखिमबारे आफ्नो धारणा राख्नुभएको थियो । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले आफ्नो संस्थाको ऊर्जा लगानी अनुभव, वित्तीय संयन्त्र र नेपालको विशेष उदाहरणका रूपमा एनआईएफआरएको ग्रीन ऊर्जा बन्डबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय सिकाइ सुनाउनुभएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार पाण्डेले यस कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर ऊर्जा पूर्वाधारमा बढ्दो जलवायु जोखिम, नेपालका उत्थानशीलताका प्राथमिकताहरू र जलवायु उत्थानशील एवं स्वच्छ ऊर्जा प्रणालीमा लगानी जुटाउने उपायहरूका बारेमा गहन छलफल गराएको बताउनुभयो । यसबाट जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीको वातावरण बनाउन मद्दत पुग्ने उहाँको भनाइ थियो । –––

प्रकाशित : २५ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६