ब्रेकिंग न्युज

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु



म्याग्दी, २३ कात्तिक

म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको साझेदारीमा सडक मर्मत थालिएको हो । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको बाढीले बालौटेमा सडक कटान गरेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक अवरुद्ध भएको थियो । सडक कटानसँगै दुखुबेँसीको फेदीमा करिब १०० मिटर सडक भत्किएको छ भने नजिकैको बस्तीसमेत जोखिममा परेको छ । म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सडक मर्मतका लागि जलविद्युत आयोजनाले डोजर र टिप्पर परिचालन गरेको जानकारी दिनुभयो । “मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गा प्रयोग गरी पूर्वाधार विकास कार्यालयले ग्याबियन जाली भरेर तत्कालका लागि अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो, “सडकको स्थायी मर्मत र दुखुबेँसी बस्ती संरक्षणका लागि गण्डकी प्रदेश सरकारले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता भौतिक पूर्वाधारमन्त्री नन्दप्रसाद न्यौपानेले गत साता बालौटे पहिरोको निरीक्षणका क्रममा जनाउनुभएको छ ।” सडक मर्मतका लागि प्रदेश सरकारले हाल रु २५ लाख उपलब्ध गराएको र दीर्घकालीन समस्या समाधानका लागि रु दुई करोडभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो । म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत आयोजनाले उपकरण परिचालन गरी सडक मर्मतमा सहयोग गरेका छन् । अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गरेपछि बालौटेमा कटान भई सडक भत्किएको हो । सडक क्षतिग्रस्त भएपछि बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित भएको छ । तत्कालका लागि दुखुखोलामा ह्युमपाइप राखेर दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरिएको मालिका गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताउनुभयो । उहाँका अनुसार सडकको दिगो समाधानका लागि मर्मतसँगै बस्ती संरक्षण आवश्यक छ । साँघुरो, कच्ची र उपयुक्त ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधनलाई एकआपसमा आवतजावत गर्न पर्याप्त ठाउँ छैन । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने उक्त सडकमा म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चापसमेत छ । —

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६