गण्डकी

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि बनेन



बागलुङ, २५ कात्तिक

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात्र पुगेको छ । एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत निर्माण भइरहेको उक्त सडक चार वर्षपछि बल्ल कालोपत्रको तयारीमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । निर्माण व्यवसायीले अहिले कालोपत्र गर्नुअघि बेस बिच्छ्याउने काम गरिरहेको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो । विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा निर्माण सम्झौता भएको सडक २०८१ साल भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । तर, निर्धारित समयमा काम सम्पन्न नभएपछि दुई पटक म्याद थप गरिएको छ । दोस्रो पटक थपिएको म्याद आगामी मङ्सिरमा सकिँदैछ । निर्धारित समयभित्रै काम सम्पन्न हुनेमा अझै आशङ्का रहेको स्थानीयको भनाइ छ । समयमै सडक निर्माण नहुँदा स्थानीयवासी लामो समयसम्म धुलाम्मे सडकमा आवतजावत गर्न बाध्य भएका थिए । निरन्तरको खबरदारी र स्थानीयको जनगुनासोपछि पछिल्लो समय निर्माणले गति लिएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताउनुभयो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सागर भण्डारीका अनुसार समयमै काम सम्पन्न नभएपछि दोस्रो पटक म्याद थप गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको थियो । त्यसपछि निर्माण व्यवसायी काममा फर्किएर अहिले बेस बिच्छ्याउने र सडक सम्याउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । सडक निर्माणको ठेक्का वल्र्डवाइड/लोपूर्ण जेभीले पाएको थियो । निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए ।

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६