अर्थ-वाणिज्य

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन



बाँके, २५ कात्तिक

कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उहाँहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर सो रकम आर्जन गरेका हुन् । उहाँहरूले उत्पादन गर्नुभएको सबै फूल बिक्री भइसकेको छ । नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको ११ क्विन्टल फूल उत्पादन गरेर रु चार लाखभन्दा बढी आम्दानी भएको युवा व्यावसायी असिम सिग्देलले जानकारी दिनुभयो । उहाँले आफूहरूले उत्पादन गरेको सबै फूल सकिएपछि पनि फूलको माग नसकिएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको उल्लेख गर्नुभयो । फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाउनुभयो । उहाँले यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताउनुभयो । अर्का व्यवसायी चेतन केसीले भाइटीकाअघि नै उत्पादन गरेको सबै ११ क्विन्टल फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि दाङबाट दुई क्विन्टल फूल ल्याएर बेचेको उल्लेख गर्नुभयो । उहाँले यसपटक बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएकाले त्यता पनि पठाइएको बताउनुभयो । अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहेनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने कुरा फूलखेतीले प्रमाणित गरेको बताउनुभयो । उहाँले रु ४०० किलो फूल बिक्री गरेको जनाउँदै अझै पनि माग भइरहेको सुनाउनुभयो । बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ । जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ । पहिलोपटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको छ । फूलखेती गरेका किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए ।

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६