समाचार

‘मानिसलाई नाङ्गै देखाउने क्यामरा १० लाखमा लेनदेन हुदैगर्दा ४ जना पक्राउ’



परासी, ११ फागुन। मानिसलाई नाङ्गै देखाउने क्यामरा भन्दै किनबेच गर्न लागेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीको पाल्ही बहुमुखी क्याम्पस नजिक १० लाखमा मोलतोल भइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ का देवराज घले, पश्चिम नवलपरासी रामग्राम नगरपालिका–६ का रविन्द्र रौनियार, पश्चिम नवलपरासी सुनवल नगरपालिका–९ का गिरीधारी लोहार र काठमाण्डौं टोखा नगरपालिका–६ का शिवकुमार पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए । 

        क्यामरा बिक्री गर्नेमा नवलपरासीका रौनीयार र लोहार हुन् । क्यामरा किनबेचका लागि सम्पर्क गराउने घले रहेको प्रहरीले जनाएको छ । घले सवारी चालकसमेत हुन् । क्यामरा खरिद गर्नेमा टोखाका पाण्डे रहेको डिएसपी थापाले बताए । घलेले तीन जनालाई भेट गराएको डिएसपी थापाले बताउनु भयो । ‘१० लाखमा किनबेचको कुरा भएपनि ८ लाखमा बार्केनिङ्ग भइरहेको रहेछ । सोही समयमा सुराकी आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । ’थापाले भन्नुभयो । थापाका अनुसार बिक्री गर्न आएकामध्ये रविन्द्र रौनीयारले भारतबाट ५० हजार भारुमा क्यामरा खरिद गरेको बताएका छन् । डेढ सय वर्ष पुरानो क्यामराले कपडा लगाएको मान्छेलाई नाङ्गै देखाउने भन्दै बिक्री गर्न लागेका थिए । 

        सामान्य डब्बा आकारमा क्यामराको पुरानो लेन्स जोडिएको छ । भित्री भागको चारै तिर पावर सिसा राखिएको छ । अरु भाग खाली छ । डब्बाको माथिल्लो भागमा तामा जस्तो धातुमा ‘ इष्ट इण्डिया कम्पनी, मोडल नं. ७५० र १८१८ एडी लेखिएको छ । सवारी चालक घलेबाहेक तीनै जना जग्गाको कारोबार गर्ने व्यक्ति रहेको डिएसपी थापाले बताए ।‘ तीनै जना व्यापारी रहेछन् जे मा भएपनि नाफा कमाउने उद्देश्य भएकाले उनीहरुले उक्त काम गरेको देखियो ।’ थापाले भन्नुभयो –  किनबेच भएको भए क्यामरा देखाएर अरु थुप्रै व्यक्ति पनि ठगिन सक्थे समयमा सूचना आएर उनीहरु पक्राउ परे । थुनामा रहेका चारै जनालाई थप अनुसन्धान गरी कारबाही प्रकृया अघि बढाउने प्रहरीले जनाएको छ ।     

प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६