बनेपा (काभ्रे), १९ कात्तिक
बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म खानी सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगबाट निस्किएको फोहोर अव्यवस्थित रूपमा थुपारिएका कारण भारी वर्षा पछि बगेर बस्तीमा पस्दा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । गत कात्तिक १२ देखि १४ गतेसम्म भएको वर्षाका कारण कात्तिक १४ गते बिहान बस्तीमा ढुङ्गा, माटो र गेग्रान पसेको थियो । उक्त घटनाबाट सेते तामाङ, पोतेबहादुर तामाङ, हर्कबहादुर तामाङ, पुष्पामाया तामाङ, जगतबहादुर तामाङ र सुमन तामाङका घर पूर्ण रूपमा क्षति भएको थियो । बाढीले खानेपानीको मुहान तथा पाइपलाइन र विद्युत्का पोलमा क्षति पुगेको थियो । घटनामा मानवीय तथा पशुचौपायाको क्षति भने नभएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष अधिकारीले समितिले प्रभावित परिवारलाई गाउँपालिकाले निर्धारण गरेअनुसारको क्षतिपूर्ति उपलब्ध गराउन र उद्योगबाट निस्किएको ढुङ्गा तथा अन्य फोहोर जन्य सामग्रीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । क्षतिपूर्ति र फोहोर व्यवस्थापनको काम पूरा नभएसम्म खानी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाबाट पुनः अनुमति नलिई उद्योग सञ्चालन गरेमा बन्द गराई कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पनि निर्देशन दिइएको छ । समितिले खहरेखोलाको किनारमा सिमेन्टको पर्खाल निर्माण गर्ने वा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विकल्पमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताउनुभयो । यसैबीच, गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेश मन्त्रालयमा पठाउने निर्णय भएको छ । समितिको उक्त बैठक कात्तिक १८ गते बसेको थियो । –––









प्रतिक्रिया