एजेन्सी, २६ फागुन । इटलीमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ३३ थपिएर ३ सय ६६ पुगेको वि.वि.सी.ले जनाएको छ । अहिलेसम्म कोरनाबाट विश्वभरी १ लाख ७ हजारभन्दा धेरै र मृतकको सङ्ख्या करिब ३६ सय छ । इटलीमा सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ पुगेको छ । १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ ।
पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ । प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा गर्नुभएको छ ।
यसैबीच इटलीमा पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकाहरूमा सेना प्रमुख पनि छन् । सल्वाटोरे फरिनाले आफू एकान्तमा बसिरहेको र स्वस्थ महसुस गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया