अन्तर्राष्ट्रिय

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा



हेब्रोन, ८ कात्तिक (रासस/एएफपी):


इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा गरेको छ । प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले उक्त क्षेत्रमा सैन्य कारबाही तीव्र बनाएको हो । इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनी बासिन्दालाई विस्थापित गराएको भोलिपल्ट उक्त घोषणा गरेको हो । रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापितहरूलाई घर फर्कन नदिइने बताउनुभएको छ । शुक्रबार प्यालेस्टिनी सहरनजिकैको जाँच चौकीमा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए । हमासले आक्रमणको जिम्मेवारी नलिए पनि त्यसको प्रशंसा गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणमा सङ्लग्न पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले सन् १९६७ मा इजरायलले वेस्ट बैंक कब्जा गरेयताकै ठूलो स्तरको सैन्य कारबाही गर्ने सङ्केत गर्नुभएको छ । इजरायली सेनाका अनुसार आइतबारदेखि प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकका इजरायली बस्ती, औद्योगिक क्षेत्र तथा जोर्डन उपत्यकामा प्रवेश गर्न रोक लगाइनेछ । निर्वाचनको दिन सबै स्थल मार्ग बन्द रहनेछन् । यसैबीच, प्यालेस्टिनी प्राधिकरणले सैन्य कारबाहीबाट प्रभावित नागरिकको सुरक्षाका लागि इजरायलमाथि अन्तरराष्ट्रिय दबाब बढाउन आह्वान गरेको छ । इजरायली सेनाले शुक्रबार र शनिबार वेस्ट बैंकका ४० स्थानमा कारबाही गरेको जनाएको छ । सेनाका अनुसार हमास र इस्लामिक जिहादजस्ता सङ्गठनसँग आबद्ध व्यक्तिसहित करिब ४० जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । हेब्रोनको एन देर बहा क्षेत्रमा सैनिकहरूले राति लाउडस्पीकरमार्फत बासिन्दालाई घर खाली गर्न निर्देशन दिएका थिए । स्थानीय ७० वर्षीय पसल सञ्चालक हिगाजी शावर अल–तमिमीका अनुसार उहाँकी ९० वर्षीया बिरामी सासूलाई समेत बोकेर सुरक्षित स्थानमा लैजानुपरेको थियो । इजरायलका दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गोलीकाण्डपछि अवैध संरचना भत्काउने आदेश दिएको बताउनुभएको छ । उहाँले आक्रमणमा सङ्लग्न पक्षले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । इजरायली सेनाले कारबाही केही दिनसम्म चल्ने जनाएको छ । तर, नेतान्याहुको पछिल्लो अभिव्यक्तिले वेस्ट बैंकमा थप व्यापक सैन्य अभियान हुन सक्ने सङ्केत गरेको छ । –––

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६