समाचार

कागजी लाइसेन्स हटाएर देशव्यापीरुपमा स्मार्ट लाइसेन्सको वितरण



 धनगढी २६ फागुन ।लामो समयदेखि वितरणमा ढिलाइ भइरहेको ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’ वितरण शुरु गरिएको छ । कागजी लाइसेन्स हटाएर देशव्यापीरुपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि माग र छपाइको सन्तुलन नमिल्दा सेवाग्राहीले समयमै स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् । यातायात व्यवस्था विभागमै कार्ड छपाइ शुरु भएसँगै सेवाग्राहीले धमाधम स्मार्ट लाइसेन्स पाइरहेका छन् । यातायात व्यवस्था कार्यालय धनगढीले मात्रै हालसम्म २५ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ । यातायात व्यवस्था विभागले २०७४ सालदेखि लाइसेन्सको स्मार्ट कार्ड वितरण गर्न शुरु गरेको थियो । कागजी लाइसेन्स हटाएर नयाँ  शुरु भएसँगै स्मार्ट कार्डको लागि लाखौँ सेवाग्राहीले आवेदन दिएका थिए । यातायात व्यवस्था कार्यालय धनगढीमा मात्रै एक लाखको हाराहारीमा आवेदन परेका जनाइएको छ । लाइसेन्सको माग र छपाइको सन्तुलन नमिल्दा सेवाग्राहीले आवेदन दिएको दुई वर्षसम्म स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् । 

    स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ हुँदा आजित बनेका सेवाग्राही पनि अहिले भने यातायात व्यवस्था कार्यालय धाउन थालेका छन् । स्मार्ट लाइसेन्स वितरण भइरहेको जानकारी पाएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट पनि यातायात व्यवस्था कार्यालय पुग्ने गरेका छन् । अब स्मार्ट लाइसेन्स हातमा परेपछि ट्राफिक झन्झट र दुर्घटनाको जोखिमबाट राहत पाइने सेवाग्राही प्रेम बोहराले बतानुभयो । यातायात व्यवस्था कार्यालयमा मात्रै हाल विभागले ३५ हजार स्मार्ट लाइसेन्स वितरणका लागि पठाएको छ । जसमध्ये हालसम्म २५ हजार बढी वितरण भइसकेका छन् । बाँकी आवेदनका आधारमा लाइसेन्स छपाइको काम भइरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । विभागले आफैँ कार्ड छाप्न शुरु गरिसकेपछि हाल स्मार्ट लाइसेन्स वितरणले गति लिएको यातायात व्यवस्था कार्यालयका प्रमुख लक्ष्मण शाहले जानकारी दिनुभयो । आधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर, नक्कली छाप्न नमिल्ने, आगोले नजल्ने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री र इ–गभर्ननेन्स लागू गर्न स्मार्ट लाइसेन्स सहयोगी हुने अपेक्षा गरिएको छ । विगतमा वितरणमा ढिलाइ देखिए पनि अब भने यातायात व्यवस्था विभागले आफैँ छपाइ शुरु गरेसँगै वितरणमा केही सहजता देखिएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६