समाचार

कोरोना कहरः होली पारिवारीक रुपमा मनाऔं–मुख्य मन्त्री पोख्रेल



बुटवल, २७ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदी बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै होलीलाई आपसमा सदभाव बढाउने पर्वको रुपमा मनाउन आग्रह गर्नुभएको छ ।  होलीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्रीले होली पर्व अर्थात फागु पूर्णिमा नेपालको मौलिक पर्व हो भन्दै रंगहरुको पर्व होलीले एक आपसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताउनु भयो । 

        उहाँले विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै सामाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको स्मरण गर्नुभयो । मुख्यमन्त्रीले सन्देशमा भन्नुभयो– होली पर्व पहाडी र हिमाली क्षेत्रमा सोमवार मनाउने प्रचलन छ, पहाडी र हिमाली क्षेत्रमा मनाएको भोलीपल्ट तराईमा होली पर्व मनाउने परम्परा छ तर फरक—फरक दिनमा भएपनि नेपालको सबै क्षेत्रमा मनाईने यो पर्व साझापर्वको रुपमा स्थापित छ ।

        मुख्यमन्त्रीले विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको बेला नेपालमापनि संभावित जोखिमलाई ख्याल गर्दै उच्च सर्तकता अपनाइएको समेत स्पष्ट पार्नुभयो ।  कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले सभा, सम्मेलन र ठूला जमघट नगर्न आग्रह गरेको मुख्यमन्त्रीले बताउनु भयो । उहाँले यो वर्षको होली पर्व ठूला जमघटमा नभई पारिवारिक रुपमा मनाऔं भन्नुभएको छ ।  सरकारले कोरोना भाइरसको संभावित जोखिम न्युनिकरण गर्न शुरु गरेको पूर्व तयारी र सर्तकता अभियानलाई सहयोग गर्दै अघि बढ्न समेत उहाँले अपील गर्नुभएको छ । 

कोरोनका कारण सिमा क्षेत्रमा सर्तकता अपनाउने 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सीमा नाकामा थप सतर्कता अपनाउने निर्णय दुवै देशका सुरक्षा अधिकारीहरुले गरेका छन् । भारतमा कोरोना संक्रमित देखिएको अवस्थामा नेपाल उच्च जोखिममा रहेको र सीमा क्षेत्र भएका कारण भैरहवामा  सम्पन्न सीमा सुरक्षा अधिकारीहरुको बैठकले सीमानाकामा हुँदै आएको चेकजाँचलाई थप कडाइ गर्ने र स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । 

        भारतको दिल्ली, जयपुर, तेलंगना, अमृतसर, लखनउ, आगरा लगायतका सहरमा अहिलेसम्म १६ विदेशीसहित ३३ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । बेलहिया नाका स्थलमार्गबाट पर्यटक भित्रिने सबैभन्दा ठूलो नाका भएकाले यो नाका उच्च जोखिममा परेको ठहरसहित संयुक्त बैठक आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो । 

        बैठकले रुपन्देही र महाराजगन्जको दुवै सीमा क्षेत्रमा तेस्रो मुलुकबाट आउने जाने पर्यटकलाई अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र जान दिने, सीमाबाट आवतजावत गर्ने नेपाली र भारतीय नागरिकको पनि शंकास्पद लागेको अवस्थामा स्वास्थ्य परीक्षण गर्ने र भाइरस सम्बन्धी प्रत्येक जानकारी आदानप्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो । 

        बैठकमा नेपालको तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी र भारतको तर्फबाट महाराजगन्जका जिल्ला अधिकारी उज्ज्वल कुमार, दुवै देशका उच्च पदस्थ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित : २६ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६