समाचार

“हामी सबैको चाहना,स्वास्थ्य सेवा हामी सबैको घरआँगनमा ”



रुपन्देही  २९ फागुन । सैनामैनामा सालझण्डी सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र संचालनमा आएको छ । “ हामी सबैको चाहना,स्वास्थ्य सेवा हामी सबैको घरआँगनमा ” भन्ने नारा सहित वडा नं ११ बनकट्टी स्थित करिब १४ कठ्ठा जग्गामा रु. १ करोड ११ लाख ५० हजार ५ सय ८९ रुपैँया लागतमा बुधबारदेखी उक्त सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र संचालनमा आएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको रिबन काटेर उद्घाटन गर्नुभयो । उपचार केन्द्रको निर्माणका लागि २०७२ साल चैत्रमा सालझण्डीबासी नेपाली सैनिक ब्याटल स्कुल र भू.पु सैनिकहरुको पहलमा श्रीमद् भागवत पितृ मोक्ष राष्ट्रशान्ती प्रेमज्ञान महायज्ञ संचालन गरिएको थियो । उक्त महायज्ञबाट करिब ६९ लाख रुपैँया बचत भएको थियो । सर्पदंश अस्पताल तथा स्वास्थ्य उपचार केन्द्रको भवन निर्माणका लागि स्थानिय पालिका, संघ संस्था र व्यक्तिगत रुपमा समेत सहयोग गरेका छन् । केन्द्रको निर्माणका लागि सैनामैना नगरपालिकाले रु.२९ लाख ५५ हजार, गैडहवा गाउँपालिकाले रु. १ लाख र कन्चन गाउँपालिकाले ९८ हजार १ सय ३० रुपैँया सहयोग गरेको आन्तरिक लेखापरिक्षण प्रतिवेदन समितीका सदस्य सन्तोष पन्थले जानकारी दिए । अन्य संघ संस्था र स्थानीयबासीहरुको सहयोग रकम बाट उपचार केन्द्र स्थापना गर्न सफल भएको पन्थले बताए । उपचार केन्द्रको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सर्पको डसाइबाट स्थानीयले उपचार अभावमा अकालमै ज्यान गुमाउन नपरोस् भन्ने हेतुले उपचार केन्द्र स्थापना गरिएको बताए । कार्कीले नागरिकको स्वास्थ्यमा नेपाली सैनिक ब्याटल स्कुल र भू.पुु सैनिकहरुले देखाएको चासोप्रति खुशी व्यक्त गर्दै केन्द्रमा दक्ष जनशक्ति व्यवस्थापनका लागि संघीय मन्त्रालयबाट दरबन्दी स्वीकृत गराइ सकिएको उल्लेख गरे । 

                   सैनामैना नगरले सर्पदंश उपचार केन्द्र संचालनमा ल्याउनु सबैका लागि महत्वपुर्ण र गर्वको बिषय भएको कन्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताए । उपचार केन्द्रका लागि सक्दो सहयोग गर्ने बताउँदै क्षेत्रीले सेवालाई चुस्त दुरुस्त बनाउन आग्रह गरे । सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सकारात्मक रुपमा विकास गर्न नगरपालिका लागि परेको उल्लेख गर्दै यसबाट जनतालाई भरपुर लाभ लिन अनुरोध गरे । नगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले उपचार केन्द्रलाई क्षेत्रीय र पाद्रेशिक स्तरमा विकास गर्नुपर्नेमा जोड दिए । केन्द्रको भवनको माथिल्लो तलामा सर्पदंश उपचार केन्द्र र तल्लो तल्लामा स्वास्थ्य चौकी रहने वडा नंं. ११ का वडाध्यक्ष सुनिल मरासिनीले जानकारी दिए । भवन निर्माणको प्रतिवदेन प्रस्तुत गर्दै केन्द्रका व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद घिमिरेले उपचार केन्द्रबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पासम्मका जनता लाभान्वित हुने बताए । केन्द्रको सफलताका लागि सबैको साथ र सहयोग नै आवश्यक रहेको औल्याउँदै घिमीरेले सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गरे । 

            कार्यक्रममा उत्कृष्ट चन्दादाता यमलाल गैरे, नेकपा सैनामैना नगर संयोजक चेत नारायण न्यौपाने, नेपाली कांग्रेसका नगर सभापति रामप्रसाद अधिकारी, रुपन्देही व्यापार संघका कृष्ण प्रसाद घिमीरे, पशुपति माध्यमिक विद्यालयका प्रध्यान्ध्यापक हरि बहादुर थापा,समाजसेवी इन्द्र बहादुर जि.सी लगायतले बोल्दै सर्पदंश उपचार केन्द्रको बारेमा प्रचार प्रसार र जनचेतनामुलक कार्यक्रमहरु समेत गर्न आग्रह गरेका थिए । उनीहरुले केन्द्रको स्थापना मात्र होइर्न व्यवस्थित ढंगले संचालनमा गर्नुपर्नेमा समेत जोड दिए । सैनामैना नगरपालिकाको मातहतमा सञ्चालन हुने केन्द्रमा सर्पदंशका विरामीको उपचार गर्न नेपाली सेनाको सहकार्यमा सेनाको तर्फबाट एकजना र संघीय स्वास्थ्य मन्त्रालयबाट एकजना गरी दुईजना विशेषज्ञ चिकित्सक उपचार केन्द्रमा रहनेछन् ।  भवन निर्माणमा नेपाली सेनाको कालिदत्त गुल्मका सैनिकले श्रमदान गरेका थिए । वि.स २०७५ फागुनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सैनामैनामा यस अघि नै पदमपाणी प्राकृतिक तथा योग चिकित्सालय संचालनमा आएको छ । यस्तै सैनामैनामा ३ वटा स्वास्थ्य चौकी र १ शहरी स्वास्थ्य केन्द्र संचालित छ  । 

 

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६