२९ फागुन, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले साँझापख पश्चिमी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जुवासीले बताउनुभयो । उक्त प्रणालीको प्रभाव आज पश्चिमी भूभागमा मात्र रहने बताइएको छ ।“पश्चिमी वायु भोलिबाट पूर्वी र मध्य पहाडी भूभागमा समेत सक्रिय हुनेछ”, उहाँले भन्नुभयो ।
हाल देशका केही पश्चिमी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । राति देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागकालगायत मध्यका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना, र हावाहुरीसहित वर्षाको सम्भावना औँल्याइएको छ । शनिबार देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भूभागका एक÷दुई स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना बताइएको छ ।
प्रतिक्रिया