खोज–अनुसन्धान

’उत्पादन, सुशासन र समृद्धि’को नयाँ संकल्प शुद्धोधनले ५८ करोड ४९ लाखको बजेट मार्फत विकासको दिशा फे¥यो



लक्ष्मण प्रसाद बेल्बासे

कपिलवस्तु, साउन ८

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ५८ करोड ४९ लाख ८९ हजार ५ रुपैयाँ ५ पैसा बराबरको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै स्थानीय विकासको नयाँ मार्गचित्र सार्वजनिक गरेको छ। गाउँपालिकाले यसपटकको बजेटलाई केवल आय–व्ययको दस्तावेजमा सीमित नराखी उत्पादनमुखी अर्थतन्त्र, गुणस्तरीय सार्वजनिक सेवा, सुशासन र सामाजिक न्याय केन्द्रित दीर्घकालीन विकासको आधारका रूपमा अघि सारेको छ।
गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभाले सर्वसम्मत रूपमा नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो।

अध्यक्ष चौधरीले संविधानले स्थानीय सरकारलाई दिएको अधिकार, संघीय तथा प्रदेश सरकारका नीति, स्थानीय आवश्यकता र विगतका अनुभवलाई समेटेर आगामी वर्षको कार्ययोजना तयार गरिएको बताए। उनका अनुसार गाउँपालिकाको लक्ष्य केवल भौतिक संरचना निर्माण गर्नु नभई उत्पादन, रोजगारी, मानव विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु हो।


गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी)ले प्रस्तुत गरेको बजेट अनुसार चालु खर्चतर्फ रु. ४३ करोड २ लाख २२ हजार ६०५ रुपैयाँ ५० पैसा तथा पुँजीगत खर्चतर्फ रु. १५ करोड ४७ लाख ६६ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको छ। बजेटको स्रोत संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, वित्तीय समानीकरण, सशर्त तथा विशेष अनुदानसँगै गाउँपालिकाको आन्तरिक आम्दानीबाट व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए।


नीति तथा कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्ने लक्ष्य हो। उत्पादन वृद्धि, व्यावसायिक खेती, आधुनिक कृषि प्रविधिको प्रयोग, सिँचाइ विस्तार, कृषि पूर्वाधार निर्माण तथा बजार व्यवस्थापनमार्फत किसानको आय वृद्धि गर्ने स्पष्ट योजना अघि सारिएको छ। यसले गाउँपालिकालाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
पशुपालन, सहकारी, घरेलु तथा साना उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गर्दै स्थानीय स्रोत र सीपलाई उत्पादनसँग जोड्ने नीति अवलम्बन गरिएको छ। यसले गाउँमै रोजगारी सिर्जना गरी युवाको वैदेशिक पलायन कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा पहुँच विस्तारभन्दा पनि गुणस्तर सुधारलाई प्राथमिकता दिएको छ। विद्यालय व्यवस्थापन सुदृढ बनाउने, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्ने, सिकाइ उपलब्धि बढाउने र शैक्षिक वातावरण सुधार गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन्।
स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य, पोषण सुधार, रोग नियन्त्रण तथा स्वास्थ्य संस्थाको सेवा क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकता दिइएको छ। स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा समेत जोड दिइएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, विपन्न तथा पछाडि पारिएका समुदायलाई लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने नीति लिएको छ। विकासको प्रतिफल समाजका सबै वर्गसम्म समान रूपमा पुग्ने गरी समावेशी विकासको अवधारणालाई बजेटमा प्राथमिकता दिइएको छ।


सडक, पुल, खानेपानी, सिँचाइ, सार्वजनिक भवन, विद्युत् तथा अन्य आधारभूत पूर्वाधारको निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइएको छ। विकास निर्माणलाई दिगो, गुणस्तरीय र नागरिकमैत्री बनाउने नीति अवलम्बन गरिएको छ। यससँगै वातावरण संरक्षण, वन तथा प्राकृतिक स्रोतको दिगो उपयोग, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा विपद् जोखिम व्यवस्थापनलाई विकासको अभिन्न अंगका रूपमा समेटिएको छ। यसले विकास र वातावरणबीच सन्तुलन कायम गर्ने प्रयासलाई स्पष्ट रूपमा देखाएको छ।
गाउँपालिकाले सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोग विस्तार गर्ने नीति लिएको छ। सार्वजनिक उत्तरदायित्व, वित्तीय अनुशासन, पारदर्शिता तथा प्रशासनिक सुधारलाई संस्थागत गर्दै नागरिकमैत्री शासन प्रणाली विकास गर्ने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न डिजिटल सुशासनलाई प्रभावकारी माध्यमका रूपमा अघि सारिएको प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद न्यौपानेले बताउनु भयो ।
संघीय अनुदान र राजस्व संकलनमा आएको दबाब, सीमित वित्तीय स्रोत तथा राष्ट्रिय अर्थतन्त्रका चुनौतीलाई स्वीकार गर्दै पनि गाउँपालिकाले विकासको गति रोक्ने पक्षमा नरहेको स्पष्ट सन्देश दिएको छ। जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र स्थानीयवासीबीचको सहकार्यबाट मात्रै समृद्धिको लक्ष्य हासिल गर्न सकिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
समग्रमा, शुद्धोधन गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटले “संरक्षणदेखि उत्पादन, उत्पादनदेखि रोजगारी र रोजगारीदेखि समृद्धि“ भन्ने विकास दर्शनलाई व्यवहारमा उतार्ने प्रयास गरेको देखिन्छ। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन र सामाजिक न्यायलाई एउटै विकास चक्रमा जोड्ने यो बजेट स्थानीय आवश्यकतामा आधारित योजनाबद्ध दस्तावेजका रूपमा देखिएको छ। यदि घोषणा गरिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके भने शुद्धोधन गाउँपालिका आत्मनिर्भर, उत्पादनमुखी र समृद्ध स्थानीय सरकारका रूपमा स्थापित हुने आधार अझ बलियो बन्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको तर्क रहेको छ ।

प्रकाशित : ८ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६