सुदूरपश्चिम, ९ साउन
कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका रु चार लाख ७४ हजार ८०० बराबरका विभिन्न मालसामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–१२ कम्पनी टोल र वडा नं १ बङ्ग्राकटान क्षेत्रमा छुट्टाछुट्टै प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेको हो । भारतबाट भन्सार छली गरी ल्याइएको सामान से १ ह २४२९ नम्बरको पेट्रोल अटोमा बेवारिसे अवस्थामा कम्पनी टोल क्षेत्रमा फेला परेको थियो । उक्त अटोसहित रु चार लाख ५० हजार ३०० बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामानमा सूर्ति १२० प्याकेट, बिडी ७४ प्याकेट, गुट्खा ३० प्याकेट, प्लास्टिक झिल्ली २८ प्याकेटलगायत रहेका छन् । धनगढी–१ बङ्ग्राकाटान क्षेत्रमा अर्को प्रहरी टोलीले रु २४ हजार ५०० बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ । त्यहाँबाट गुट्खा नौ प्याकेट, कफी तीन प्याकेट, मसला पाँच प्याकेट, सुपर पावर सूर्ति ४७ प्याकेट, दुना–टपरीका प्लास्टिक ४०० दर्जन र चिनी २० किलो बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै स्थानबाट बरामद गरिएका अटो र सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । —










प्रतिक्रिया