समाचार

अध्यागमन विधेयक स्वीकृत



काठमाडौँ, २९ फागुन, राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।  सभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कोमल वलीले पुरानो कानूनलाई समसामयिक  व्यवस्थासहित परिमार्जन गरिनुपर्ने बताउनुभयो ।सांसद प्रकाश पन्थले अध्यागमन विधेयक, २०४९ किन खारेज गर्नु परेको भन्ने कुरा विधेयकमा नआएको बताउनुभयो । विधेयकमा दण्ड सजाय बढाइएकाले विदेशी पर्यटक आउन पनि प्रभाव पार्छ कि भन्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

सांसद रामनारायण बिडारीले ८० प्रतिशत कानून कार्यपालिकाले बनाउन थाल्नु र २० प्रतिशतमात्र कानून संसद्ले बनाउन थाल्नुले व्यवस्थाप्रति नै निराशा देखाउन खोजेको बताउनुभयो । घुस लिन मिल्ने गरी कानून बन्न थालेको उहाँको भनाइ थियो ।  “यो विधेयक ल्याउनु पर्नाको कारण के हो, त्यो विषय चार लाइनमा लेखेर हुन्छ रु”, विधेयक ल्याउनाको कारण स्पष्ट नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो । सांसद अनिता देवकोटाले अध्यागमनलाई सङ्घीय सरकार नियन्त्रणमा राख्दा प्रदेश र स्थानीय तहमा पर्ने प्रभावका  केही विषय विधेयकमा आउन नसकेको बताउनुभयो । सांसद डा विमला पौडेलले तीनमहिने पर्यटक प्रवेशाज्ञामा आई परामर्शदाता कम्पनीमा काम गर्ने विदेशीको सङ्ख्या धेरै रहेकाले कसरी नियमन गर्ने भन्ने विषय विधेयकमा व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा उठेका सवालको जवाफ दिँदै गृहमन्त्री थापाले वर्षमा २५ लाख मानिस आउजाउ गर्ने गरेकाले व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो । “विकास र समृद्धिमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विधेयक परिमार्जन गरेर ल्याइएको छ, दफावार छलफलमा अझै परिमार्जन गरी त्रुटि सच्याएर पूर्ण हुने विश्वास छ”, उहाँले भन्नुभयो । 

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६