प्रदेश

स्थानीय सरकारका कामवाट मुख्यमन्त्री सन्तुष्ट,जनताको सुखलाई मुख्य एजेण्डा बनाउन आग्रह



रुपन्देही २१ चैत । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारका कामवाट प्रदेश ५ का मुख्यमन्त्री शंकर प्रसाद पोख्रेसले आफु सन्तुष्ट भएको वताउनु भएको छ । संक्रमण फैलन नदिन र संभावित संक्रमण देखापरे उपचार ब्यवस्था मिलाउन भइरहेका प्रयासका बारे शुक्रवार मुख्यमन्त्री शंकर पोखरेलले रुकुम पूर्वका स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गर्दै यस्तो वताउनु भएको हो । 

        मुख्यमन्त्री र स्थानीय तहका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।छलफलमा मुख्यमन्त्रीले मापदण्ड अनुसारका क्वारेन्टाइन निमार्ण गर्न, क्वारेन्टाइनमा बसेकालाई गुणस्तरीय खानपीनको व्यवस्थापन गर्न र स्थानीयस्तरबाट प्राप्त सूचना प्रदेश र संघीय सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभएको बताइएको छ । 

        उहाँले राहत कोष निर्माण गर्न, दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायको तथ्याङ्क संकलन गर्न, राहत एकद्धारबाट वितरण गर्न ध्यानाकर्षण गराउनु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले जानकारी दिनुभयो ।सो अवसरमा स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म गरेका कामबारे जानकारी गराउनु भएको थियो । उहाँहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराउनुभयोे ।

        मुख्यमन्त्रीले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा खाद्यवस्तुको अवस्थाको जानकारी लिनुभएको थियो । पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर रहेको बताउनुभयो । भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले तत्काल समस्या नरहेपनि केही समयपछि समस्या आउन सक्ने बारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

      प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्ने बित्तिकै अस्पताल पठाउन र त्यसका लागि प्रत्येक पालिकाका एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्न मुख्यमन्त्रीले आग्रह गर्नुभएको थियो ।प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले स्वास्थ्य सामग्रीको व्यवस्थापन अझै बढाउनुपर्ने र बाग्लुङबाट भूमे गाउँमा पूर्णरुपमा आवतजावत रोक्न आवश्यक रहेकोले गृहमन्त्रालयलाई जानकारी गराएको बताउनुभयो ।

        प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यबाट प्रभावकारी बनाई कोरोना विरुद्धको लडाई जित्नको लागि यो भिडियो संवाद थालिएको हो । यसअघि उपमहानगरका प्रमुख र जिल्ला सदरमुकामका नगरपालिका प्रमुखसंग भिडियो संवाद भइसकेको छ ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६