ब्रेकिंग न्युज

महाराजगंजको स्थलगत अनुगमनमा प्रजिअ र संचारकर्मी : राहतको चामल कुहिएकै ,क्वारेन्टाइन रित्तै,मेयरकै भाई खान नमिल्ने चामलका आपूर्ति कर्ता



महाराजगंज स्थलगत रिर्पोट

कपिलवस्तु , २५ चैतकोरोना संक्रमण नियन्त्रण गर्न र सरकारले जारी गरेको कार्यविधि बमोजिम विपन्नलाई राहत बाड्ने कार्यमा महाराजगंज नगरपालिकाले अनियमितता गरेको पुष्टि भएको छ । मंगलबार विहान प्रमुख जिल्ला अधिकारी सहितको टोलीले वितरण गरेको चामल अनुगमन गर्ने क्रममा कुहिएको (मक्किएको) चामल खरिद गरेको भेटिएको हो  । वितरण पनि अनियमित रुपमा आफुखुशी  गरेको, खरिद प्रक्रिया मिचेको पाइएको छ । स्थानीयबासीहरुले वडा तथा नगरपालिकाले कुहिएको चामल दिएको भन्दै खान नमिल्ने बताए । स्थानीय मुन्ना कहाँरले बाडेको चामल पकाएर खान नसकिने बताउनुभयो । “गन्हाउछ,खानै मिल्दैन, बरु राहत नै नदिएको भए हुने थियो” उहाले भन्नुभयो । यसै गरि अर्का स्थानीय मंगल यादवले पनि वडाले बाडेको चामल खान योग्य नभएको गुनासो गर्नुभयो । “यो कसरी खाने, विग्रेको छ, झन विरामी परिन्छ भनेर खाइएन, छेमकी संग सापट लिएर खाइरहेको छु, अर्को चामल दिनुपर्यो” उहाले अनुगमन टोली समक्षा  भन्नुभयो ।

विपन्नको जीवन रक्षाकालागि दिइएको राहत यस्तो हुन्छ त? हेर्नुहोस भिडियोमा 

     

   सरकारले १९ गते राहत कार्यविधि जारी गरेपनि नगरपालिकाले वेवास्ता गर्दै धमाधम आफुखुशी खाद्यान्न किनेको थियो । प्रमुख प्रशासकिय अधिकृत वेद प्रकाश खरेलले नगर प्रमुख अब्दुल कलामका भाई शाहिद खाँनको चन्द्रौटा स्थित खाद्य उद्योगबाट चामल खरिद गरेका थिए । उक्त चामल वडा नं. ७ कुशहवामा २० गते वितरण गरिएको थियो । वितरणका क्रममा भेदभाव गरेको र राहत गुणस्तरहीन भएको भन्दै स्थानीले विरोध गरेपछि वितरण रोकिएको थियो ।  अधिकृत खरेलले राहत सामाग्री चर्को मुल्यमा खरिद गरिसकेपछि फस्ने डरले २१ गते मात्र दरभाउपत्र माग गरेका थिए । राहत कोषको खाता खुलेपछि मात्र त्यसबाट रकम झिक्ने र राहत वितरण गर्नुपर्नेमा २२ गते मात्र खाता खोलिएको थियो । राहत सामाग्रीहरु भने १९ गते नै खरिद गरिएको थियो । 

        महाराजगंजमा कार्यरत प्रशासकिय अधिकृत खरेल आर्थिक पारदर्शिता नभएका अधिकारी हुन् । उनी २ महिना अघि सरुवा भएपनि पत्र नपाएको भन्दै महाराजगंज बाट अन्यत्र जान मानेका छैनन् । त्यहा २ महिना अघि मन्त्रालयले बैकुण्ठ सापकोटालाई सरुवा गरेको थियो तर सापकोटालाई नगरप्रमुख अब्दुल कलाम र प्रशासकिय प्रमुख वेदप्रकाश मिलेर हाजिर समेत गर्न नदिएपछि उनी मन्त्रालयमै छन् । आफु ३ पटक आउदा समेत हाजिर गर्न नदिएपछि मन्त्रालयमै बसेको छु , सापकोटाले भन्नुभयो । 

        नगरपालिकाले राहतमा मात्रै होइन कोरोना संक्रमण रोकथाममा समेत चरम लापरवाही गरेको छ । कागजमा क्वारेन्टाइन देखाइएपनि कोहि पनि सम्भावित व्यक्तिहरु राखिएका छैनन् । कुशहवामा कुनै पनि व्यक्ति क्वारेन्टाइन बसेको छैनन् । भारतका विभिन्न स्थानबाट आएकाहरु जनप्रतिनिधीको जिम्मामा घर पठाइएको छ । कुशहवाका स्थानीय सन्तोष केवटले १ साता अघि भारतबाट आएका थुप्रै व्यक्ति गाउँका चोक चौराहामा गफिदै बस्ने तर क्वारेन्टाइन पठाउन जनप्रतिनिधीले वास्ता नगर्ने बताउनुहुन्छ ।

        यसै गरि शिवभारी स्थित क्वारेन्टाइनमा पनि कोहि छैनन् । स्थानीयबासीका अनुसार क्वारेन्टाइन स्थापना गरेको दिन २–४ घण्टा केहि व्यक्ति आएको तर विवाद भएपछि घरै बसेका छन् । ३ दिन अघि मात्र ६ जना व्यक्ति भारतबाट आएको र उनीहरु पनि घरै बसेको छन् । क्वारेन्टाइन रित्तो छ । अर्को तर्फ नगरपालिकाले राहतको लागि फारम भर्ने भन्दै भीड जुटाइरहेका छन् । महाराजगंज नगरपालिका वडा नं. ९ सिसवामा वडा कार्यालयमा गाउँभरीका व्यक्ति जुटाएर तथ्यांक लिने कार्य चलिरहेको छ । घर घरमा गई सुरक्षित र व्यवस्थित तरिकाले तथ्यांक संकलन गर्न छाडेर भीड जुटाउदा थप संक्रमण पैmलिन सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

            प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले राहत वितरणमा पारदर्शिता अपनाउन निर्देशन दिनुभएको छ । जसको लागि वडा अध्यक्षको संयोजकत्वमा सर्वदलिय संयत्र निर्माण गर्ने र उक्त संयत्रले कार्यविधि अनुसार मापदण्ड पुगेकाहरुलाई राहत दिने, राहत सामाग्री खरिद गर्ने र अभिलेखिकरण गर्ने जस्ता कार्य गर्नुपर्ने बताउनुभयो । छलफलमा पूर्वमन्त्री इश्वरदयाल मिश्राले विपदको बेला जनताको सेवा र सुरक्षा दुबै आवश्यक पर्नेहुदा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । नेकपाका महाराजगंजका अध्यक्ष विजयप्रकाश जैसवालले स्थानीय सरकारले राहत वितरण र कोरोना संक्रमण सुरक्षाका लागि गरिने हरेक क्रियाकलाप पारर्दर्शी हुनुपर्ने बताउनुभयो । यसका लागि नेकपाले सबै क्षेत्रबाट सहयोग गर्न तयार रहेको समेत जानकारी दिनुभयो । नगर प्रमुख अब्दुल कलामले विगतका कमजोरी सच्याउदै सबैको सहकार्यमा राहत वितरण कार्यलाई निरन्तरता दिइने बताउनुभयो । चामल खानयोग्य भए नभएको हेरी फिर्ता गरिने उहाले जानकारी दिनुभयो । 

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६